नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा महिला पक्राउ

तीन नाबालिकाको उद्धार

पुस ८, २०८२

आश गुरुङ

Woman arrested on charges of involving minor in sex work

लमजुङ — नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा लमजुङ प्रहरीले १ जना महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले बेंसीसहर नगरपालिका–८ मा किराना पसल तथा होटल सञ्चालनको आडमा नाबालिकालाई अनैतिक क्रियाकलापमा संलग्न गराएको आरोपमा पसलकी सञ्चालक ४५ वर्षीया कोपिला श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रेशम बोहराले उजुरीका आधारमा ती महिलालाई पक्राउ गरिएको बताए । प्रहरी टोलीले उक्त पसलबाट ३ जना नाबालिकाको उद्धार गरेको समेत जनाएको छ । उद्धार गरिएका नाबालिकालाई आवश्यक संरक्षणका लागि संरक्षण गृहमा राख्न पठाएको उनले बताए ।

पक्राउ परेका श्रेष्ठविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मंगलबार लमजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट आर्थिक अवस्था कमजोर रहेका नाबालिकालाई कामको प्रलोभन देखाई पसलमा राख्ने र पसलको पछाडिपट्टि छुट्टै कोठा व्यवस्था गरी यौन व्यवसायमा संलग्न गराएको खुलेको छ । नाबालिकालाई अनैतिक क्रियाकलापमा संलग्न गराई यसबाट आर्थिक लाभ लिइएको प्रमाण फेला परेपछि श्रेष्ठलाई सोमबार नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully