कारागार कार्यालय कास्कीबाट गत भदौ २४ गते फरार भएकालाई प्रहरीले पक्राउ गरेको हो ।
लमजुङ — कर्तव्य ज्यानको कसुरमा थुनामा रही कास्की कारागारबाट फरार एक जना थुनुवा लमजुङबाट पक्राउ परेका छन् ।
कारागार कार्यालय कास्कीबाट गत भदौ २४ गते फरार लमजुङको दूधपोखरी गाउँपालिका–५, कोल्कीका ४५ वर्षीय मनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रहरी चौकी गौंडाबाट खटिएको प्रहरी टोलीले मंगलबार नियन्त्रणमा लिई कानुनी प्रक्रियापछि कास्की कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेशम बोहराका अनुसार भदौ २४ गते कास्की र तनहुँ कारागारबाट फरार भएका कैदी तथा थुनुवामध्ये हालसम्म लमजुङमा ४६ जनालाई पक्राउ गरी सम्बन्धित कारागारमै बुझाइसकिएको छ ।
गत असार ३२ गते लमजुङ कारागारको गेट नजिकको पर्खाल भत्किएर सुरक्षा जोखिम बढेपछि लमजुङ कारागारमा रहेका १ सय ९ जना कैदी तथा थुनुवालाई कास्की र तनहुँ कारागारमा स्थानान्तरण गरिएको थियो । भदौ २४ को प्रदर्शनको मौका छोपी कैदी तथा थुनुवा फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय लमजुङले फरार प्रतिवादीबारे सूचना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन आग्रह गरेको छ । प्राप्त सूचनाको गोपनीयता कायम राखिने प्रहरीले स्पष्ट पारेको छ ।
