शताब्दी घरमा कलाकारको जमघट : कला र रङको उत्सव

कार्यशालामा कोरिएका चित्रलाई शताब्दी घरमा संग्रह गर्ने योजना बनाएको अध्यक्ष आरके अदिप्त गिरीले बताएका छन् ।

पुस ७, २०८२

रासस

Artists gather at the Centennial House: A celebration of art and color

What you should know

गण्डकी — कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे ।

आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्रज कलाकारको जमघट भयो ।

उनीहरुले अनुभव र सिकाइ साटासाट गरे । कलाका आयामबारे विमर्श गरे । कुश्मा कला परियोजनाले राखेको ‘एक दिवसीय कला कार्यशाला’ मा पर्वत, बागलुङसहित धवलागिरि क्षेत्रका कलाकार सहभागी बनेका हुन् । 

तीन सय वर्ष पुरानो शताब्दी घर संरक्षण गरिरहेको परियोजनाले सोही स्थानमा कला कार्यशाला चलाएको हो । कार्यशालामा पर्वत, कुश्माका विभिन्न विद्यालयका करिब दुई सय विद्यार्थी सहभागी थिए । विद्यार्थीले चित्र कोरे । पाका कलाकारले क्यानभासमा कोरेका आकृति अवलोकन गरे ।

परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले चित्रकला विधाको जगेर्नाका लागि कार्यशाला आयोजना गरिएको बताए । 'कलाकारको सम्मानसहित नयाँ पुस्तालाई चित्रकलामा आकर्षित गर्न कार्यशाला राखिएको हो,' उनले भने ।

धवलागिरि क्षेत्र आफैँमा कलाको उर्वर क्षेत्र भएकाले यस क्षेत्रको कला गतिविधिलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने अध्यक्ष गिरीको भनाइ छ । 'कार्यशालामा कोरिएका चित्रलाई शताब्दी घरमा संग्रह गर्ने योजना बनाएको छौं,' उनले भने ।

परियोजनाले शताब्दी घरलाई सांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन र सम्पदा संरक्षणका क्षेत्रमा परियोजना क्रियाशील छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले कार्यशालाले कलाको वातावरण सिर्जना गर्न मद्दत पुर्‍याएको बताए ।

Artists gather at the Centennial House: A celebration of art and color

'कलाकारहरुबीच सिक्ने, सिकाउने अवसर बन्यो, कलाप्रतिको सम्मानका लागि यस किसिमका गतिविधि हुनु आवश्यक छ,' उनले भने, 'पछिल्लो समय प्रतिष्ठानले जिल्लास्तरमा ललितकलासँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।' कुश्माको कार्यशालामा प्रतिष्ठानले सहकार्य गरेको सदस्य सचिव थुम्केलीले बताए । धवलागिरि क्षेत्रलाई समेटेर आगामी दिनमा ललिताकलासम्बन्धी कार्यशाला र प्रदर्शनीको आयोजना गर्ने योजना रहेको उनको भनाइ छ ।

रासस

Link copied successfully