नगरबासीको आँखाको समस्या कम गर्न अस्पताल सञ्चालन गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताए ।
नवलपुर — पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । चोरमारा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर नगर अस्पताल सञ्चालन गरिएको हो ।
नगर अस्पताल सञ्चालनमा आएसँगै नगरवासीलाई आँखाको समस्या पहिचान र उपचारका लागि सदरमुकाम कावासोती वा चितवन जानुपर्ने बाध्यता हटेको छ ।
नगरबासीको आँखाको समस्या कम गर्न अस्पताल सञ्चालन गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताए ।
अस्पताल सञ्चालनका लागि नेपाल नेत्रज्योति सङ्घ र भरतपुर आँखा अस्पतालले सहकार्य गरेका छन् । अस्पतालको आइतबार नगर प्रमुख अधिकारीले उद्घाटन गरेका हुन् ।
यसै गरेर मध्यविन्दु नगर अस्पतालको सुविधासम्पन्न भवनको पनि आज उद्घाटन भएको छ । २०६९ कार्तिकमा निर्माण सुरु भएको १५ शय्या क्षमताको अस्पताल भवनबाट नगर अस्पतालको सेवा सुचारु भएको हो । १७ करोड ५६ लाखको लागतमा नगर अस्पतालको भवन निर्माण गरिएको हो ।
नगर अस्पतालमा प्रयोगशाला , प्रसूति सेवा , भिडियो एक्सरे र विशेषज्ञ सेवासमेत प्रवाह हुँदै आएको छ ।
