पुलको खम्बामूनि राख्नुपर्ने भारबहन क्षमता जाच्ने मेसिन नआएका कारण पुल निर्माणको काम रोकिएको हो ।
What you should know
नवलपरासी — गैंडाकोट र नारायणगढ बीच रहेको नारायणी नदीमा निर्माण सुरु भएको 'सिग्नेचर' पुलको भारबहन क्षमता जाच्ने मेसिन नआउँदा काम रोकिएको छ ।
पुलको खम्बामूनि राख्नुपर्ने भारबहन क्षमता जाच्ने मेसिन नआएका कारण पुल निर्माणको काम रोकिएको हो ।पुलको जगको भारबहन क्षमता मापन गर्ने यन्त्र 'ओसाेल' चिनियाँ भन्सारमै अड्किएका कारण निर्माणको काम रोकिएको हो ।
यो पुल हेर्ने सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर अजुर्न घिमिरेका अनुसार चीनबाट खरिद गरेर ल्याइएको 'ओसोल' भन्सार जाँचपासका क्रममा रहेका कारण निर्माणको काम अघि बढाउन नसकिएको हो ।
अबकाे एक सातामा सामान आइपुगेपछि काम सुरु गर्ने लक्ष्य रहेकाे ईन्जिनयिर घिमिरेले बताए । नेपालमा अहिलेसम्म निर्माण भएका पुलमा यस्तो ओसेल सामान राखिएको छैन । याे पुलको बीचमा ठड्याइने दुई वटा खम्बाको जग नारायणीको सतहबाट ४५ मिटर गहिरो हुने इन्जिनियर घिमिरेले जानकारी दिए ।
डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको पुल निर्माणको काम गत मंसिर १४ गतेबाट सुरु भएको थियो । निर्माण थालेको एकसातामै काम रोकिएपछि कौतुहलता बढेको हो ।
हाल नारायणी नदी वारपार गर्ने पुल रहेकै स्थानकाे थेरै पूर्वमा नयाँ निर्माण हुने 'सिग्नेचर' पुल निर्माणको काम अघि बढाइएको हो । आगामी ३ वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको यो पुल नेपालकै नौलो हुने ईन्जिजियर घिमिरेकाे दाबी छ । यो पुल १२ दशमलव ६५ मिटर फराकिलो हुने छ ।
७ वर्षअघि नै पुलको नक्सा तयार गरिएकाे यो पुल दुई लेनको मात्र हुने छ । बढ्दो सवारी आवगमन थेग्नेगरी कम्तीमा ४ लनेको पुल निर्माण गर्नुपर्ने आवश्यक भए पनि पुरानै नक्सा स्वीकृत गरेर पुल महाशाखाले ठेक्का लगाएर काम सुरु भएको हो । यो पुलमा पुग्ने बुटवल-नारायणगढ र हेटौंडा-नारायणगढ सडक ६ लेनको निर्माण भैरहँदा नारायणी नदीमा निर्माण हुने पुल भने २ लेनमा सीमित गरिएको छ । १ अर्ब ६८ करोडको लागतमा यहाँ निर्माण हुने 'सिग्नेचर' पुलको बीचमा ठड्याइने अग्ला दुई खम्बामा लठ्ठा बाँधेर पुल निर्माण हुने छ ।
४४ वर्षअघि निर्माण भएको पुलबाट हाल नारायणी नदी वारपारको हुने गरेकाे छ । नयाँ निर्माण भइरहेकाे पुल पनि पुरानै पुलकै साइजमा गाडी हिँड्न मिल्ने पुलको भाग ७ दशमलव ५ मिटरकाे हुनेछ । याे पुल नेपालकै नयाँ मोडलको र आर्कषक हुने पुल महाशाखाको भनाई छ ।
