तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् ।
तनहुँ — गत भदौ २४ गतेको प्रदर्शनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २५९ जना फर्किसकेका छन् भने अन्य व्यक्ति आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
आन्दोलन भएको तीन महिना बितिसक्दा पनि सम्पर्कमा नआएकाहरूको खोजी कार्य तीव्र बनाइएको छ । केही कैदीबन्दीहरू आफैँ कारागार फर्किए पनि कतिपयलाई खोजी गरी पक्राउ गर्न थालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
त्यसैगरी जेनजी आन्दोलनमा कारागारबाट फरार रहेका जिल्ला गोरखा पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय सुमन परियारलाई बिहीबार पक्राउ गरिएको छ । चोरी मुद्दाका कैदी परियारलाई तनहुँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि कारागार पठाइएको विकले बताए ।
