आन्दोलनका नाममा आक्रमण र लुटपाटमा संलग्नलाई तत्काल कारबाही होस् : चन्द्र ढकाल

निजी क्षेत्रको विकासले मात्र अर्थतन्त्र बलियो हुने र यसले रोजगारी लगायत आर्थिक कृयाकलाप बढाउँदा मुलुकको समग्र विकासले गति लिने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले बताएका छन् ।

पुस ४, २०८२

नवीन पौडेल

Immediate action should be taken against those involved in attacks and looting in the name of protest: Chandra Dhakal

नवलपुर — नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले जेनजी आन्दोलन लगायत विभिन्न आन्दोलनका नाममा उद्योग, कलकारखाना र उद्योगी व्यापारीको निजी सम्पत्तिमा तोडफोड, आगजनी  र लुटपाटमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

नवलपुर उद्योग वाणिज्य सङ्घ , पूर्वी नवलपरासीको ११ औं साधारणसभा तथा छैटौं अधिवेशनमा बोल्दै ढकालले यस्तो बताएका हुन् ।

‘२०४६ , माओवादीको सशस्त्र द्वन्द्व , २०६२\६३ को जनआन्दोलन होस् वा भदौ २३ \२४ मा भएको जेनजी आन्दोलन  र प्रदर्शन- सबैमा निजी क्षेत्रलाई निशाना र धराशायी बनाउने काम भइरहेको छ,’उनले भने, ‘जेन्जी आन्दोलनमा घुसपैठ गरेर उद्योग , कलकारखाना र निजी क्षेत्रमा आक्रमण र लुटपाट गर्ने सबैलाई कारबाही हुनुपर्दछ । निजी क्षेत्रलाई हतोत्साहित पार्ने कामको हामी भर्त्सना गर्दछौं ।’

निजी क्षेत्रको विकासले मात्र अर्थतन्त्र बलियो हुने र यसले रोजगारी लगायत आर्थिक कृयाकलाप बढाउँदा  मुलुकको समग्र विकासले गति लिने बताउँदै निजी  क्षेत्रको मनोबल उच्च बनाउन सबैले साथ दिनुपर्ने उनले बताए । 

जेनजी आन्दोलनका क्रममा अध्यक्ष ढकालको लगानी रहेको मौलाकालिका केवल कार गैंडाकोटमा पनि तोडफोड र आगजनी भएको थियो ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully