पुस ८, ९ र १० गते लमजुङको दोर्दी गाउँपालिकाको नौथर शेरास्थित खेलमैदानमा उक्त महोत्सव आयोजना गर्ने जनाएको हो ।
What you should know
लमजुङ — लमजुङको दोर्दी गाउँपालिकाले खेलकुद, कृषि, पर्यटन तथा सांस्कृतिक गतिविधिलाई एकै थलोमा समेट्दै प्रथम दोर्दी खेलकुद, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८२ आयोजना गर्ने भएको छ ।
गाउँपालिकाले सदरमुकाम बेंसीसहरमा शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पुस ८, ९ र १० गते गाउँपालिकाको नौथर शेरास्थित खेलमैदानमा महोत्सव आयोजना गर्ने जनाएको हो ।
गाउँपालिकाको पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, आन्तरिक व्यापार विस्तार तथा लोककला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनका अनुसार महोत्सवले दोर्दी गाउँपालिकाको समग्र पहिचान निर्माण गर्न सहयोग पुर्याउनेछ । उनले महोत्सवमार्फत दोर्दीको गाउँगाउँमा रहेका होमस्टे, पदमार्गहरुको प्रचारप्रसार गरिने बताए ।
महोत्सवमा गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता, कृषि मेला तथा प्रदर्शनी, उत्कृष्ट कृषक सम्मान, सांस्कृतिक झाँकी र लोकनृत्य, आमा समूहहरुको खुला नृत्य प्रतियोगिता, विद्यालय तथा शिक्षक सम्मान लगायत कार्यक्रम राखिएका छन् । साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेका अनुसार कृषि मेला तथा प्रदर्शनीमार्फत स्थानीय कृषि उपज, नगदे बाली, पशुपालन, मौरीपालन, तरकारी, फलफूल, कृषियन्त्र तथा प्रविधिको प्रदर्शन गरिनेछ । ‘यसले कृषकलाई नयाँ प्रविधिबारे जानकारी दिनुका साथै स्थानीय उत्पादनको बजार विस्तारमा टेवा पुग्नेछ’ उनले भने ।
महोत्सवमा उत्कृष्ट कृषकलाई सम्मान गरी व्यावसायिक कृषितर्फ प्रोत्साहन गर्ने योजना रहेको उनले सुनाए । सांस्कृतिक झाँकी, लोकनृत्य र आमा समूहको नृत्य प्रतियोगिताले लोपोन्मुख संस्कृतिको संरक्षण गर्दै सामुदायिक एकता मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए ।
गाउँपालिका रोजगार संयोजक धर्मराज गुरुङले महोत्सवले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने, महिला समूहको सक्रियता बढाउने र स्थानीय रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने बताए । ‘स्थानीय प्रतिभा पहिचान गरी जिल्लादेखि राष्ट्रिय स्तरसम्म दोर्दीलाई चिनाउने अवसर महोत्सवले दिनेछ,’ उनले भने ।
आयोजकका अनुसार महोत्सवका लागि करिब १७ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । गाउँपालिका, स्थानीय समुदाय तथा सरोकारवालाको सहकार्यमा महोत्सवलाई सफल बनाइने आयोजकले जनाएको छ ।
