मनास्लु क्षेत्रमा आउने पर्यटकलाई सूचना प्रवाह, चोरी निकासी नियन्त्रण लगायतका गतिविधि सञ्चालन गर्ने गरी चेकपोस्ट स्थापना गरिएको जनाइएको छ ।
गोरखा — चुमनुब्री–७ छेकम्पारमा पर्यटन तथा वन पैदावार चेकपोस्ट स्थापना गरिएको छ । मंसिर २९ गते चेकपोस्ट स्थापना गरी सञ्चालनमा ल्याइएको मनास्लु संरक्षण क्षेत्र(एमक्याप)का प्रमुख सन्तोष शेरचनले बताए ।
मनास्लु क्षेत्रमा आउने पर्यटकलाई सूचना प्रवाह, चोरी निकासी नियन्त्रण लगायतका गतिविधि सञ्चालन गर्ने गरी चेकपोस्ट स्थापना गरिएको उनले बताए । ।
यसअघि मनास्लु संरक्षण क्षेत्र अन्तर्गत सामागाउँ र जगतमा चेकपोस्ट सञ्चालनमा रहेको छ । ‘अब यस क्षेत्रमा तीन वटा चेकपोस्ट रहनेछ,’ उनले भने । मनास्लु क्षेत्र आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भइरहेकाले पर्यटकको सुविधालाई ध्यानमा राखेर पर्यटक जाँच केन्द्रको सेवा सुरु गरिएको उनले बताए । जाँच केन्द्रबाट पर्यटकलाई ट्रेकिङ रुटको वारेमा जानकारी दिने, पर्यटकीय क्षेत्रको बारेमा सूचना प्रवाह गर्ने, पर्यटन अनुमतिपत्रको जाँच गर्ने लगायतका कार्य हुने उनले बताए । जडीबुटी संकलनको बेला अनुगमन तथा वन्यजन्तुबाट घरपालुवा जनावरलाई क्षति गरे अनुगमन तथा राहतका लागि आवश्यक कागजात संकलनका लागि सहजीकरण सेवा पनि केन्द्रबाट प्रवाह हुने उनले बताए ।
