लमजुङ महोत्सव माघ ८ देखि हुने

लमजुङ महोत्सव सञ्चालनका लागि अध्यक्ष भरतकुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

पुस १, २०८२

आश गुरुङ

Lamjung Festival to be held from Magh 8

What you should know

लमजुङ — नवौं लमजुङ महोत्सव आउँदो माघ ८ देखि २० सम्म हुने भएको छ । लमजुङ सदरमुकाम बेंसीसहरस्थित सहजी खेलमैदानमा महोत्सव आयोजना गर्न लागेको लमजुङ उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

महोत्सव सञ्चालनका लागि अध्यक्ष भरतकुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । यस्तै, अन्य १४ वटा उपसमिति गठन गरिएको आयोजकले जनाएको छ । महोत्सवमा २ सय बढी स्टल राखिने भएका छन् ।

जिल्लामा उत्पादन हुने स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगका सामग्रीको बजार प्रवर्द्धन गर्ने, स्थानीय उद्योग, व्यापार तथा व्यवसायलाई आर्थिक रुपमा सशक्त र गतिशील बनाउने, स्थानीय मौलिक कला, संस्कृति, धार्मिक क्रियाकलाप, रीतिरिवाजको संरक्षण तथा प्रचारप्रसार गर्ने, आन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धन गरी लमजुङलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न पहल गर्नेलगायत आयोजकले उद्देश्यमा राखेको छ ।

महोत्सवमा स्थानीय मौलिक नाच, गीत, वेशभूषा र संस्कृति प्रदर्शनी, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगका स्टलहरु, हस्तकला, जडिबुटी, खाद्य परिकार तथा स्थानीय उत्पादन प्रदर्शनी, औद्योगिक, व्यापारिक तथा व्यवसायिक प्रविधियुक्त प्रदर्शनी, धार्मिक तथा साँस्कृतिक झाँकी, खेलाडी र विद्यार्थीका खेल कौशल, मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, खेलकुद साथै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति राखिने महासचिव विपिन श्रेष्ठले बताए ।

महोत्सव सञ्चालनका लागि १ करोड २० लाख रुपैयाँ खर्च लाग्ने प्रक्षेपण गरिएको छ । महोत्सवलाई डेढ लाख दर्शकले हेर्ने अपेक्षा गरिएको आयोजक लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठले बताए । 

महोत्सवमा विपद कोष, आदर्श महिला तथा बालविकास केन्द्र, मानवसेवा आश्रम, सर्वोदय ज्येष्ठ नागरिक आश्रम र नेपाल पत्रकार महासंघ लमजुङको सचिवालय सञ्चालन गर्न २/२ रुपैयाँ गरी प्रतिटिकट १० रुपैयाँ सामाजिक सेवामा विनियोजन गर्ने आयोजकले जनाएको छ ।

यस्तै संघ स्थापना भएको ५० वर्ष पुगेको अवसरमा पुस २६ गते स्वर्ण जयन्ती उत्सव पनि मनाउने आयोजकले बताएको छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully