कसरी जाने क्रपु ? कति लाग्छ खर्च ?

‘अफरोड साधन’ हुनेहरू साधनमै जान पनि मिल्छ । साधनमा जान बाटो सहज भने छैन । साधनमा ताङतिङबाट क्रपु पुग्न डेढ घण्टा लाग्छ ।

मंसिर २९, २०८२

अनुप पौडेल

How to get to Krapu? How much does it cost?

What you should know

कास्की — पोखरा हुनुहुन्छ ? एक दिनको हाइकिङ र क्याम्पिङ बसेर आँखाअघि सर्लक्क हिमाल हेर्न मन छ ? यसका लागि क्रपु डाँडा (२९०० मिटर) उपयुक्त गन्तव्य हुन सक्छ । यहाँबाट १२ वटा हिमाल देखिन्छन् । क्रपु डाँडा जान पोखराबाट दुई वटा विकल्प छन् । पहिलो, पोखराबाट सिधै क्रपु पुग्न सकिन्छ । दोस्रो, एक रात ताङतिङ बसेर भोलिपल्ट क्रपु जान पनि मिल्छ ।

सुरुमा सिधै क्रपु पुग्ने विकल्पबारे जानौं । यसका लागि पोखराबाट बिहान ८ बजेभित्र ताङतिङतर्फ निस्कनुपर्छ । निजी सवारीमा ताङतिङ पुग्न करिब २ घण्टा लाग्छ । पोखराको काहुँखोलाबाट बस र जीप पनि पाइन्छ । ताङतिङका लागि बिहान ८ बजे र साँझ ४ बजे पोखराको काहुँखोलाबाट बस छुट्छ । बसमा करिब साढे दुई घण्टा लाग्छ । ताङतिङ जान जीप रिजर्भ गर्न सकिन्छ । जीपमा ८ जना यात्रु क्षमता हुन्छ । काहुँखोलादेखि ताङतिङ गएको भाडा ६ हजार रुपैयाँ पर्छ । 

काहुँखोलाबाट बिहान ८ बजे यात्रा सुरु गरेमा ११ नबज्दै ताङतिङ पुगिन्छ । ताङतिङमा बिहानको खाना खाएर क्रपुतिर उक्लनुपर्छ । क्रपुसम्म मोटर बाटो पनि पुगेको छ । ‘अफरोड साधन’ हुनेहरू साधनमै जान पनि मिल्छ । साधनमा जान बाटो सहज भने छैन । साधनमा ताङतिङबाट क्रपु पुग्न डेढ घण्टा लाग्छ । 

ताङतिङबाट क्रपु पुग्न पैदल ४ देखि ५ घण्टा लाग्छ । लालीगुराँसको जंगल हुँदै यात्रा गरिने भएकाले फागुनपछि जाँदा यात्रा थप यादगार बन्छ । अस्ताउनुअघि पर्ने घामको आभाले अन्नपूर्ण हिमशृंखला, धौलागिरि, माछापुच्छ्रे, लमजुङ, गणेशलगायत हिमाल झनै मनमोहक देखिन्छन् । राति नाचगानसहित क्रपुमा रमाइलो गर्न सकिन्छ । क्रपु ‘क्याम्पिङ डेस्टिनेसन’ हो । यहाँ टेन्टमा रात बिताउनपर्छ । यसका लागि १ हजार ५ सय रुपैयाँको प्याकेज छ । त्यसमा रातिको खाना, बास र भोलिपल्ट बिहानको चिया–नास्ता समावेश हुन्छ । 

भोलिपल्ट बिहान दृश्यावलोकन गरेपछि बिहानको नास्ता खाएर ताङतिङ ओर्लन सकिन्छ । ताङतिङमा बिहानको खाना खाएर मध्यान्ह १२ बजेको बसमा पोखरा फर्कन मिल्छ । निजी सवारी हुनेलाई समयको दबाब हुँदैन । 

अब क्रपु जाने दोस्रो विकल्पबारे जानौं । यो विकल्पअनुसार एक रात ताङतिङमा बिताएर भोलिपल्ट बिहान क्रपु उक्लन सकिन्छ । यसका लागि पोखराबाट बास बस्ने योजनासहित अबेरसम्म ताङतिङ पुग्नुपर्छ । निजी सवारी नहुनेहरू अपरान्ह ४ बजेको बसमा जानु उपयुक्त हुन्छ । How to get to Krapu? How much does it cost?

ताङतिङमा प्याकेजको १ हजार २ सय रुपैयाँ पर्छ । यसमा बेलुकाको खाना, बास र बिहानको खाजा समावेश हुन्छ । ताङतिङमा बास बसेर भोलिपल्ट बिहानै झिसमिसेमै क्रपुतिर उक्लन सकिन्छ । ताङतिङबाट बिहान ५ बजे हिँडेमा ९ बजेभित्र क्रपु पुगिन्छ । त्यहाँबाट दृश्यावलोकन र बिहानको खाजा खाएर ताङतिङ फर्कने तयारी गर्नुपर्छ । दिउँसो ३–४ बजेसम्म ताङतिङ फर्किएमा रातिसम्म पोखरा आइपुगिन्छ । 

सार्वजनिक सवारीमा ताङतिङ जाने, हिँड्न रुचाउनेका लागि दुईमध्ये पहिलो विकल्प उचित हुन्छ । किनकि पोखराबाट पहिलो रात बास बस्न सिधै क्रपु जाँदा शरीरलाई थकान हुँदैन । एकैदिन ताङतिङबाट क्रपु जानु, फेरि ताङतिङ फर्किएर पोखरा आउँदा शारीरिक असहजता हुन सक्छ । यस्तोमा अवस्थामा यात्रालाई २ रात ३ दिनमा लम्ब्याउन सकिन्छ । 

क्रपु डाँडा आसपास लालीगुराँसको जंगल छ । क्रपुका पर्यटन व्यवसायी हिमाल गुरुङकाअनुसार पुसको अन्तिमदेखि फागुनको मध्यसम्म हिउँ पर्छ । फागुन अन्तिमदेखि लालीगुराँस फुल्छ । जति धेरै हिउँ पर्छ, त्यति नै लालीगुराँस राम्रोसँग फुल्छ । हिउँ पर्ने समयमा सवारीमा जान मिल्दैन । 

क्रपुमा कृत्रिम पोखरी पनि बनाइएको छ । पोखरीमा हिमालको छायाँ पर्छ जसले गर्दा पनि क्रपुको चर्चा अझ बढेको छ । धेरै पर्यटक पोखरीमा देखिने हिमशृंखलाकै फोटो–भिडियो देखेर क्रपु जाने गरेका छन् । 

क्रपुलाई पनि समेटेर ताङतिङदेखि बेंसीसहरसम्म जोडेर गुरुङ हेरिटेज ट्रेल विकास गरिएको छ । प्रवर्द्धनको चरणमा रहेको यो ट्रेल चलेमा क्रपु ‘ट्रान्जिट पोइन्ट’ बन्ने व्यवसायी गुरुङ बताउँछन् । उनकाअनुसार सिजन चलेकाले क्रपु जान पहिल्यै बुकिङ गर्नुपर्छ । बुकिङ नगरी जाँदा बास पाउनै समस्या हुनसक्ने उनले सुनाए ।  

समग्रमा एक रात दुई दिनमा पोखराबाट क्रपु पुगेर फर्कंदा ३ देखि ४ हजार रुपैयाँ खर्च हुन्छ । ८ जनसम्मको समूह भएमा जीपमा गएर फर्कनु उचित हुन्छ । २ देखि ४ जना जाने भएमा निजी सवारीको बन्दोबस्त गर्नु उचित हुन्छ । निजी सवारी उपलब्ध नहुने अवस्थामा बस प्रयोग गर्न सकिन्छ ।

अनुप

Link copied successfully