तनहुँमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार आइतबार दिउँसो १:१० बजे दमौलीबाट खैरेनीटारतर्फ जाँदै गरेको ग १ ख ९४०६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको गण्डकी एएबी ०१८६ नम्बरको स्कुटर आपसमा ठक्कर खाएको हो ।

मंसिर २८, २०८२

सम्झना रसाइली

One person dies in bus-scooter collision in Tanahun

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीभिरमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका–७ भारकोट निवासी ५१ वर्षीय लेशबहादुर थापा छन् । 

इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार आइतबार दिउँसो १:१० बजे दमौलीबाट खैरेनीटारतर्फ जाँदै गरेको ग १ ख ९४०६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको गण्डकी एएबी ०१८६ नम्बरको स्कुटर आपसमा ठक्कर खाएको हो ।

दुर्घटनामा स्कुटर चालक थापा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, झरौटा पठाइएको थियो । चिकित्सकले जाँच गर्दा दिउँसो १:४५ बजे घाइतेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न बस, स्कुटर र बस चालक स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका–५ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका–१७ बिरौटामा बसोबास गर्दै आएका ५१ वर्षीय चुडामणि शर्मा पोखरेललाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको छ । दुर्घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully