गृहमन्त्री र आईजीपीले भेटे जेन–जी प्रदर्शनमा ज्यान गुमाएका अमृत गुरुङको परिवारलाई

काठमाडौंको कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार अमृत गुरुङको घरमा पुगेर गृहमन्त्री अर्याल र आईजीपी दानबहादुर कार्कीले कर्तव्यपथमा ज्यान गुमाएका उनको त्यागलाई राज्यले सदैव सम्झने बताए ।

मंसिर २८, २०८२

दीपक परियार

Home Minister and IGP meet the family of Amrit Gurung, who lost his life in the Gen-G protest

What you should know

पोखरा — जेन–जी प्रदर्शनका क्रममा २४ भदौमा काठमाडौंको कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारसँग गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आइतबार भेट गरेका छन् । उनीहरू कास्कीको रूपा गाउँपालिकामा रहेको गुरुङको घरमै पुगेर परिवारलाई भेट गरेका हुन् ।

गृहसचिव रामेश्वर दंगाल, शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र गृह मन्त्रालयका सहप्रवक्ता उपसचिव रवीन्द्र आचार्यसहितको टोली गुरुङको परिवारलाई समवेदना व्यक्त गर्न पुगेको हो । उनीहरू सोमबार पोखरामा हुने गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुनेछन् । 

गुरुङको घरमा पुगेर गृहमन्त्री अर्याल र आईजीपी कार्कीले कर्तव्यपथमा ज्यान गुमाएका अमृतको त्यागलाई राज्यले सदैव सम्झने बताए । मन्त्री अर्यालले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै राज्य सधैं उनीहरूको साथमा रहने बताए । ‘राज्यले सक्दो सबै किसिमको सहयोग गर्नेछ । रोजगारीको उपयुक्त व्यवस्था पनि मिलाउनेछौं,’ उनले भने, ‘परिवारलाई पूर्ण परिपूरण गर्न सरकार प्रतिबद्ध छ ।’

भेटघाटका क्रममा रूपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले सहिद पत्नी कान्ति गुरुङको जीविकोपार्जनका लागि स्थायी रोजगारीको व्यवस्था गर्न माग गरिन् । अंग्रेजी विषयमा स्नातक तह उत्तीर्ण गरेकी कान्तिका लागि शैक्षिक योग्यताका आधारमा रोजगारी दिलाउन उनले आग्रह गरेकी थिइन् । जवाफमा गृहमन्त्री अर्यालले तीनवटै तहका सरकारबाट तत्काल सहयोग गर्ने र योग्यताअनुसार रोजगारी दिलाउन पहल गर्ने आश्वासन दिए । 

प्रहरी प्रभाग कोटेश्वरमा ड्युटीमा रहेका बेला २४ भदौमा कुटपिट, लछारपछार र धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको थियो । उनको आमाको पनि यसै वर्ष निधन भएको थियो । उनको घरमा हाल श्रीमती, दुई वर्षका छोरा र बुबा छन् । उनको हत्या आरोपमा कैलालीका अनुपम भण्डारी पक्राउ परेर जेल चलान भएका छन् ।

नेपाल प्रहरीको नियमावलीअनुसार कर्तव्य पालनाका क्रममा सहिद हुने प्रहरी कर्मचारीका परिवारलाई संगठनबाट विभिन्न सुविधा प्रदान गरिन्छ । अमृतलाई मरणोपरान्त एक तह बढुवा दिइएको छ । नेपाल प्रहरीले सहिद परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरिसकेको छ । प्रहरी कल्याण कोष र बिमाबापत करिब २५ देखि ३० लाख रुपैयाँ तत्काल उपलब्ध गराइने व्यवस्था छ । सहिदका सन्तानलाई कक्षा १२ सम्म छात्रवृत्ति र श्रीमतीलाई आजीवन निवृत्तिभरणको सुविधा सरकारले उपलब्ध गराउने नियम छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully