राष्ट्रिय क्रस–कन्ट्रीको छैटौ‌ं संस्करण कोल्मामा हुने

पुष दोस्रो साता हुने छैटौं संस्करणको क्रसकन्टी दौड प्रतियोगिताको तयारी तीव्र बनाइएको आयोजक संस्था सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले जनाएको छ ।

मंसिर २७, २०८२

प्रतीक्षा काफ्ले

The sixth edition of the National Cross-Country will be held in Colma.

What you should know

स्याङ्जा — राष्ट्रिय क्रस–कन्ट्रीको छैटौ‌ं संस्करण स्याङ्जाको पुतलीबजार नगरपालिका–९ कोल्माको बराहचौरमा हुने भएको छ ।

पुष दोस्रो साता हुने छैटौं संस्करणको क्रसकन्टी दौड प्रतियोगिताको तयारी तीव्र बनाइएको आयोजक संस्था सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले जनाएको छ । 

‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको हो । मञ्चका महासचिव जीवन पोखरेलले क्रस–कन्ट्रीमा विभिन्न ५ विधामा खेल आयोजना गरिने बताए ।

पोखरेलका अनुसार २१ वर्षमाथि पुरुषतर्फ २५ किलोमिटर, खुल्ला महिलातर्फ १० किमि, २१ वर्षमुनि पुरुषतर्फ १० किमि, विद्यार्थी समूह (छात्र र छात्रा) ५ किमि, रन फर फन (३० वर्ष माथिका महिला, लुङ्गी पोशाकमा) गरी विभिन्न चरणका खेल आयोजना गरिएको छ । 

२५ किलोमिटर दौड कोल्मा बराहचौरबाट सुरु भई सतिडाँडा–काउले–बहाकोट–नाम्चे–माथिल्लो काल्खु, तल्लो काल्खु, तनहुँको खल्लुबोट–राइपुर विस्यौना, रामचौतारा–सिम्लेस्वाँरा, वडारे, गुदी–मड्किना, मड्किना–भन्ज्याङ्ग, केवरेपानी हुँदै सतिडाँडा आइपुग्दै पुन कोल्मा बराहचौर आइपुग्नेछ । 

१० किलोमिटरतर्फ कोल्मा–काउले, ज्यामिरे, विरुवा–भैसेगौंडा र राङभाङ हुँदै सोही रुटबाट फर्किएर पुनः कोल्माडाडाँ आएर सकिने छ । छात्रछात्रा ५ किमितर्फ कोल्मा हुदै पोखरीछापा, राईपुर–बासपानी, रामचौतारा हुदै सोहि रुटबाट फर्किएर कोल्माडाडाँ आएर सकिने छ ।

प्रतियोगितामा २५ किलोमिटरतर्फ प्रथम हुनेले ५० हजार, द्वितीयले ४० हजार, तृतीयले ३० हजार रुपैयाँ पाउनेछन् । 

यसैगरी, १० किलोमिटरतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २०, १५ र १० हजार नगद पाउनेछन् । महिलातर्फको १० किलोमीटरतर्फ प्रथमले २०, द्धितियले १५ र तृतीयले १० हजार नगद पाउने छन् ।

विद्यार्थीतर्फ छात्रछात्रा दुबै समूहमा प्रथमले ८ हजार, द्वितीयले ५ हजार र तृतीयले ३ हजार र रन फर फनतर्फ प्रथमले ५, द्वितीयले ३ र तृतीयले २ हजार रुपैयाँ पाउने छन् । 

क्रस–कन्ट्री दौड प्रतियोगिता प्रत्येक वर्ष गरिँदै आएको छ । २०७५ सालबाट सुरु भएको प्रतियोगिता २०७७ र ७८ मा काेराेनाका कारण स्थगित भएको थियो । प्रतियोगिताले सामाजिक सदभाव, मेलमिलाप विकास, होमस्टेको प्रचार भई पर्यटक आगमन बढेको मञ्चका महासचिव पोखरेल बताउँछन् । यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारको पनि सांगितीक प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ ।

प्रतीक्षा काफ्ले

Link copied successfully