अब पोखराको पहिचान ‘सारंगी’

लेकसाइडको बसुन्धरा पार्कमा ५० लाख रुपैयाँको लागतमा १५ फिट अग्लो प्रतिमासहित ‘सारंगी पार्क’ निर्माण हुने भएको छ ।

मंसिर २६, २०८२

दीपक परियार

Now the identity of Pokhara is 'Sarangi'

What you should know

पोखरा — पोखरा महानगरपालिकाले आफ्नो पहिचानका रूपमा लोकबाजा सारंगीलाई चिनाउन लेकसाइडको बसुन्धरा पार्कमा सारंगीको १५ फिट अग्लो प्रतिमा बनाउने भएको छ । प्रतिमासहितको ‘सारंगी पार्क’ निर्माणका लागि महानगरले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

महानगरपालिकाको ६७औं स्थापना दिवसको अवसरमा १ पुसमा सारंगी पार्कको शिलान्यास गरिने भएको छ । पोखराको बाटुलेचौरसहित विभिन्न वडामा सारंगीवादक गन्धर्व समुदायको बसोबास रहेको छ । सारंगी पोखराको चिनारी र पहिचानका रूपमा स्थापित लोकबाजा हो ।

महानगरले स्थापना दिवस २९ मंसिर, १ र २ पुसमा गरी तीन दिवसीय रूपमा मनाउँदै छ । स्थापना दिवसबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महानगर प्रमुख धनराज आचार्यले सारंगी प्रवर्द्धनका लागि यो पार्क निर्माण गर्न लागिएको बताए । ‘पोखराको मौलिक संस्कृतिको संवाहक सारंगीलाई प्रवर्द्धन गर्न यो पार्क निर्माण गर्न लागिएको हो,’ उनले भने । पोखराको पहिचानका रूपमा चिनाउने सामग्रीका लागि प्रतियोगिताको आयोजना गरेको र उक्त प्रतियोगिताबाट सारंगी छनोट भएको जानकारी उनले दिए ।

स्थापना दिवसका अवसरमा महानगरले विभिन्न क्षेत्रमा योगदान गर्ने पोखरेली नवरत्नहरूलाई सम्मान गर्ने भएको छ । भाषा साहित्य, कला (संगीत नृत्य, नाट्य, चित्रकला), शिक्षा, स्वास्थ्य, कृषि तथा उद्यमशीलता, सामाजिक सेवा, खेलकुद पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण, विज्ञान प्रविधि तथा नवप्रवर्द्धन र अन्य क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तित्त्व मध्येबाट ९ जनालाई २ लाख २ हजार २ सय २ सहित ताम्रपत्र, दोसल्ला र पदक सहित पोखरेली नवरत्न सम्मान गरिनेछ ।

महानगरपालिकामा कार्यरत कर्मचारीहरू मध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जना कर्मचारीलाई महानगरले सम्मान गर्दैछ । महानगरपालिकाका ३३ वटै वडा मध्येबाट सरसफाइमा उत्कृष्ट ३ वटा वडा, महानगर मातहतका कार्यालय मध्येबाट सरसफाइमा उत्कृष्ट कार्यालय र महानगरपालिकालाई तोकिएको समयमा नियमित र सबैभन्दा बढी राजश्व तिर्ने उत्कृष्ट करदाता पनि सम्मानित हुनेछन् । उमेरको ज्येष्ठताका आधारमा महानगर मातापिता (ज्येष्ठ नागरिक) सम्मान कार्यक्रमसमेत महानगरले गर्नेछ । पोखरेली नवरत्न सम्मान, उत्कृष्ट कर्मचारी, करदाता र महानगर मातापिता सम्मान २ पुसमा हुने मूल समारोहमा गरिने महानगर प्रमुख आचार्यले जानकारी दिए ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गर्ने ६७ जना विद्यार्थी र महानगर स्तरीय परीक्षा (कक्षा ८) मा ४ जीपीए प्राप्त गर्ने १२ विद्यार्थी सम्मानित हुनेछन् । कक्षा ८ को परीक्षामा विषयगत रूपमा औसत उपलब्धि हासिल गर्ने ३० जना र एसईईतर्फ ३० जना गरी ६० जना उत्कृष्ट शिक्षक पनि सम्मानित हुनेछन् । कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने १५ वटा, एसईईतर्फ ४९ तथा सामुदायिक र संस्थागत विद्यालयतर्फ सबैभन्दा बढी जीपीए प्राप्त गर्ने १/१ विद्यालय उक्त अवसरमा सम्मानित हुनेछन् । विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मान कार्यक्रम १ पुसमा हुनेछ ।

स्थापना दिवसका अवसरमा किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि क्विज कार्यक्रम, बृहत् रक्तदान कार्यक्रम, मुख्य समारोहको पूर्वसन्ध्यामा मानवअधिकार चोक चिप्लेढुंगादेखि सभागृहसम्म सांस्कृतिक झाँकी, र्‍यालीसमेत हुनेछ । मूल समारोहका सहभागी हुन सबै महानगर, उपमहानगर र छिमेकी स्थानीय तहका प्रमुख र पोखरासँग भगिनी सम्बन्ध रहेका विदेशका सहरबाट पनि पाहुना बोलाइएको आचार्यले बताए ।

विसं २०१६ मा स्थापना भएको पोखरा नगरपालिका समयक्रमसँगै २०१७ मा नगर पञ्चायत, २०४७ मा पुनः नगरपालिका, २०५२ मा उप–महानगरपालिका, २७ फागुन २०७३ मा पोखरा लेखनाथ महानगरपालिका हुँदै २३ साउन २०७५ मा पोखरा महानगरपालिका नामकरण भएको हो । कुल ४६४.२४ वर्ग किलोमिटरमा फैलिएको पोखरा महानगरपालिका क्षेत्रफलका हिसाबले मुलुककै सबैभन्दा ठूलो महानगरपालिका हो । भूगोलका हिसाबले यो काठमाडौं महानगरपालिका भन्दा ९ गुणा र ललितपुर महानगरपालिका भन्दा १४ गुणा ठूलो छ ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully