हिरासत कक्षलाई मानव अधिकार मैत्री बनाउन कानुनी मापदण्ड अनुसार व्यवस्थित बनाएको हाे ।
गोरखा — जिल्ला प्रहरी कार्यालयले हिरासत कक्षको सुदृढीकरण गरेको छ । नयाँ लत्ताकपडालगायतका आवश्यक सामग्री थप भएसँगै हिरासत कक्ष सुविधायुक्त बनेको छ ।
अन्तराष्ट्रिय मानव अधिकार दिवसको पूर्वसन्ध्यामा हिरासत कक्षको सुदृढीकरण गरिएको जिल्ला प्रहरी गोरखाका एसपी भरत विकले बताए । दुई वटा पुरुष हिरासत कक्ष, एक महिला हिरासत कक्ष र एक पर्खाल निगरानी कक्षमा आवश्यक सामग्री थप गरेर सुदृढ बनाइएको उनले बताए ।
गोरखा नगरपालिका र आरुघाट गाउापालिकाको सहयोगमा हिरासत कक्ष सुदृढीकरणका लागि २५/२५ थान म्याट्रेस, तन्ना, फाइबर सिरक, सिरानी, १ थान डिस्फेन्सर, ५ थान थर्मसलगायतका सामग्री प्राप्त भएको उनले बताए ।
३ लाख ९४ हजार ४ सय ८२ रुपैयााको लगानीमा हिरासत कक्षको सुदृढीकरण गरिएको एसपी विकले बताए । हिरासत कक्षलाई मानव अधिकार मैत्री बनाउन कानुनी मापदण्ड अनुसार व्यवस्थित बनाएको उनले बताए ।
