पोखरामा जलन उपचारसहित विशिष्टकृत अस्पताल बनाउने योजना

पोखरा महानगरपालिका–२७ को कार्यालय रहेको ठाउँमा एक सय शय्याको जलन तथा विशिष्टकृत अस्पताल निर्माणको अध्ययन सुरु भएको छ । 

मंसिर २५, २०८२

अनुप पौडेल

Plans to build a specialized hospital with burn treatment in Pokhara

कास्की — पोखरामा जलन (बर्न)को उपचारसहित विशिष्ट सेवा प्रवाह गर्ने अस्पताल निर्माणको योजना अघि बढेको छ । पोखरा महानगरपालिका–२७ को कार्यालय रहेको ठाउँमा एक सय शय्याको जलन तथा विशिष्टकृत अस्पताल निर्माणको अध्ययन सुरु भएको छ । 

अस्पताल निर्माण गर्न आवश्यक परामर्श, अध्ययन तथा सम्भाव्यता अध्ययनका लागि गत आइतबारदेखि कोइकाका नेपाल निर्देशक मोहियोन कोङ, उपनिर्देशक, सहायक निर्देशकसहित १७ जनाको टोली पोखरामा रहेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए । 

साविक लेखनाथ नगरपालिका कार्यालय रहेको ३६ रोपनीमध्ये तीन रोपनीमा पोखरा–२७ को वडा कार्यालय निर्माण गरिएको छ । पाँच रोपनीमा एसियाली विकास बैंकको सहयोगमा विपद् व्यवस्थापन केन्द्र निर्माण हुँदैछ । बाँकी २८ रोपनी क्षेत्रफलमा जलनसहित प्रसूति तथा स्त्री रोग, बालबालिका, ट्रमा, मिर्गौला तथा अन्य आवश्यक विशिष्ट सेवा समावेश गरी विशिष्टिकृत अस्पताल निर्माण गर्ने योजना रहेको मेयर आचार्यको भनाइ छ । 

०८१ फागुन ३ मा पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन विस्फोट हुँदा तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर आचार्य घाइते भएका थिए । यसपछि घाइते दुवैलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । यो घटनापछि मेयर आचार्यले पोखरामा जलनको उपचार हुने गरी एक वर्षभित्र छुट्टै यूनिट वा अस्पताल नै निर्माण गर्ने घोषणा गरेका थिए ।  

पोखरामा जलनको उपचार गर्न हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा छुट्टै केन्द्र छ । 

अनुप

Link copied successfully