विश्व मलायली परिषद्को शाखा नेपालमा पनि

नारायणगढमा आयोजित कार्यक्रममा नेपाल लिटिल फ्लावर सोसाइटीमा आबद्ध शैक्षिक व्यक्तित्त्व फादर रोबीको अध्यक्षतामा नेपाल समिति गठन भएको हो ।

मंसिर २४, २०८२

रमेशकुमार पौडेल

World Malayali Council branch in Nepal too

चितवन — मूलथलो भारतको केरल प्रान्त भएका तर विश्वको विभिन्न देशहरूमा पुगेका मलायलम भाषा बोल्नेहरूको संगठन विश्व मलायली परिषद् (वर्ल्ड मलायली काउन्सिल, डब्लूएमसी)को नेपालमा पनि शाखा विस्तार भएको छ । डब्लूएमसीले नेपालमा शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोगका कार्यक्रम सुरु गर्ने योजना बनाएको भारत क्षेत्रका अध्यक्ष पद्मकुमारले बताए । 

नारायणगढमा आयोजित कार्यक्रममा नेपाल लिटिल फ्लावर सोसाइटीमा आबद्ध शैक्षिक व्यक्तित्त्व फादर रोबीको अध्यक्षतामा नेपाल समिति गठन भएको हो । 

नेपालमा केरलबाट आएर शैक्षिक, औद्योगिक र विभिन्न व्यापारिक प्रतिष्ठानमा कार्यरत ९० जना मलायलमभाषीहरू आफूहरूको सम्पर्कमा रहेको फादर रोबीले बताए । केरलबाहिर ६० देशबाट ३० लाख मलायली डब्लूएमसीमा जोडिएको उनले बताए ।

‘विश्वभरका मलायलीहरूसँग जोडिएर काम गर्न सक्ने अवसर जुटेको छ । हामी जहाँ आवश्यकता छ त्यहाँ सहयोग गर्न पनि तत्पर रहने छौं,’ अध्यक्ष फादर रोबीले भने ।

३० वर्षअघि सन् १९९५ मा अमेरिकाको न्यु जर्सीमा डब्लूएमसी गठन भएको हो । त्यसयता ६० देशमा फैलिएको डब्लूएमसीका ६ वटा क्षेत्रीय (रिजनल) स्तरका समिति छन् । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully