खाना, संस्कृति र संगीतलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नारासहित यस महोत्सवमार्फत पोखरामा अंग्रेजी नयाँ वर्षको स्वागत हुँदै आएको छ ।
कास्की — रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखरा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने सडक महोत्सव (स्ट्रीट फेस्टिभल)को तयारीमा जुटेको छ ।विगतका वर्षजस्तै पुष १३ देखि १७ गतेसम्म फेवाताल किनार लेकसाइडको करिब साढे ३ किलोमिटर क्षेत्रमा महोत्सवको २७ औं संस्करण हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
खाना, संस्कृति र संगीतलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नारासहित यस महोत्सवमार्फत पोखरामा अंग्रेजी नयाँ वर्षको स्वागत हुँदै आएको छ ।
नेपालका विभिन्न जातजातिका लोपन्मुख सांस्कृतिक झाँकी, मौलिक भेषभुषा, परम्परागत नृत्य, स्वदेशी तथा विदेशी परिकार, लाइभ कन्सर्ट, लोक दोहोरी, साहसिक तथा खेल गतिविधि महोत्सवको आकर्षण रहेको महोत्सव संयोजक वसन्त गौतमले बताए ।
वेटर रेस, टफ वार, फेवातालमा डुंगा दौड र पर्यटक लक्षित अन्य खेल गतिविधि हुने उनले सुनाए । पोखराको पर्यटनको अवसर र चुनौतीबारे अन्तरक्रिया, पोखरासम्बन्धी वृत्तचित्र प्रदर्शनी र फोटो प्रदर्शनी पनि हुने उनले जानकारी दिए ।
महोत्सवले पोखरालाई अंग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सफल भएको उनको दाबी छ ।
