गोरखाका ४ सय ४३ घर–पसलबाट जम्मा भएको १ लाख २१ हजार ५ सय ५५ रुपैयाँ बुधबार पुनःनिर्माण कोषको खातामा जम्मा गरिएको छ ।
गोरखा — जेनजी प्रदर्शनका क्रममा ध्वस्त भएका सरकारी संरचना पुनःनिर्माणका लागि जिल्लाका नागरिक संस्थाहरूले १ लाख २१ हजार ५ सय ५५ रुपैयाँ संकलन गरेका छन् । उक्त रकम बुधबार भौतिक पूर्वाधार पुनःनिर्माण कोषको खातामा जम्मा गरेर जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइएको अभियानका संयोजक तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष हरि देवकोटाले बताए ।
जिल्लाका ४ सय ४३ घर पसल तथा व्यक्तिबाट उक्त रकम संकलन भएको हो । ‘रकम दिनेहरूको नामावलीसहितको विवरण प्रशासनलाई पनि बुझाएका छौं,’ अभियानका संयोजक देवकोटाले भने ।
आइतबार संघ/संस्थाले संयुक्त रूपमा सदरमुकाममा घरदैलो गरेर स्वतस्फुर्त रूपमा सहयोग गर्नेहरूसँग रकम संकलन गरेका थिए । सहयोग रकम भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा दाखिला गरी सोको विवरण जिल्ला प्रशासन कार्यालय गोरखा, प्रधानमन्त्रीको कार्यालयलाई जानकारी दिइएको देवकोटाले बताए ।
‘देश निर्माणमा सबै नागरिकलाई सहभागी गराई राज्यप्रतिको नागरिकको दायित्व, जिम्मेवारी र कर्तव्य वहन गराउन पनि यो अभियान संचालन गरेका हौं,’ उनले भने, ‘यसले भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा स्रोत वृद्धिका लागि पनि सहयोग भएको छ ।’
जिल्लाका नागरिक संघ/संस्थाले संयुक्त रूपमा अभियान संचालन गरेका थिए ।
