आइतबार दिउँसो गोरखाबाट चितवन जाँदै गरेको बस दुर्घटनामा २१ जना यात्रु घाइते भएका थिए ।
गोरखा — आँबुखैरेनी–गोरखा सडक खण्ड अन्तर्गत गोरखा नगरपालिका–११ बाह्रकिलोमा भएको बस दुर्घटनामा घाइते भएका ९ जनालाई गोरखा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेज रिफर गरिएको छ ।
आइतबार दिउँसो गोरखाबाट चितवन जाँदै गरेको बस दुर्घटनामा २१ जना यात्रु घाइते भएका थिए । दुर्घटनामा घाइते बनेका गोरखा नगरपालिका–३ नारेश्वरका सीताकुमारी बस्नेत, ५६ वर्षीय निरुमाया श्रेष्ठ, १२ वर्षीया अनुष्का बस्नेत, ईश्वरबहादुर बस्नेत, १४ वर्षीय अनुष बस्नेत, बारा सिम्रनगण–३ का मनोजकुमार शाह, गोरखा–६ का बसुन्धरा जोशी, चितवनको भरतपुर–५ का ३५ वर्षीय संगिता बस्नेत, आधभी प्याकुरेल, गोरखा–९ का ४७ वर्षीय जालुमाया विकलाई थप उपचारका लागि चितवनस्थित नयाँ र पुरानो मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेको भने गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाह्रकिलो बजारमा रोकिराखेको ना ४ ख १४१९ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले बताए । ‘बसको ब्रेक नभएको र ओत पनि नराखी ड्राइभर झरेको बेला बस गुडेर १० मिटर तल खसेर दुर्घटना भएको छ,’ उनले भने । बस चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
