४ जिल्लामा मतदान, कास्की र पर्वतमा टुंगो लगाउन सकस
What you should know
कास्की — एमालेको ११ औं महाधिवेशनका लागि गण्डकी प्रदेशका ११ मध्ये ५ वटा जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।
मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ र स्याङ्जामा सर्वसम्मत प्रतिनिधि चयन गरिएको एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बताए ।
गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र तनहुँमा शनिबार प्रतिनिधि चयन गर्न मतदान भएको हो । कास्की र पर्वतमा सर्वसम्मत गराउन नेताहरू सक्रिय छन् । आकांक्षी धेरै हुँदा शनिबार राति ९ बजेसम्म दुवै जिल्लामा प्रतिनिधि टुंगो लाग्न नसकेको हो ।
तनहुँको दुईमध्ये प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सर्वसम्मत प्रतिनिधि चयन भए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा भने निर्वाचन भएको छ । आकांक्षी धेरै भएको र मिलाउन सहजीकरण समिति गठन गरेर काम भएको एमाले पर्वत अध्यक्ष गोविन्द पहाडीले बताए । ‘धेरै पार्टी सदस्य भएको जिल्ला हो । यस्तो समयमा मिलाएर जाने भनेर हामीले सहजीकरण समिति गठन गरेका थियौं । समितिले दिउँसो काम गर्न भ्याएन । अबेर रातिसम्म सक्ने भन्नेमा छौं,’ उनले भने ।
कास्कीमा ३ वटा निर्वाचन क्षेत्र छन् । त्यसमध्ये क्षेत्र नम्बर १ र २ मा सर्वसम्मत भएको छ । क्षेत्र नम्बर ३ मा प्रतिनिधि कसलाई पठाउने भन्नेमा सहमति जुट्न सकेको छैन । कतिपय आकांक्षीले जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेतालाई जिम्मा दिएको भनेर सहमति जनाए पनि सबै उम्मेदवार यसमा सहमत भएका छैनन् । जसले गर्दा कास्कीमा अन्तिममा केन्द्रीय नेता खगराज अधिकारी, जगत विश्वकर्मालगायतको इच्छाअनुसार प्रतिनिधि टुंगो लाग्ने सम्भावना छ ।
पृथ्वीसुब्बा गुरुङ, पद्मा अर्याल, किरण गुरुङ र खगराज अधिकारी एमालेमा गण्डकीका प्रभावशाली नेता हुन् । उनीहरु हालसम्म अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा देखिएका छन् । सबै जना एकै कित्तामा देखिँदा प्रतिनिधि चयनमा गुटगत विवाद भने भएन ।
उपमहासचिव गुरुङको गृहजिल्ला लमजुङमा आकांक्षी पछि हट्न नमानेपछि निर्वाचन भएको हो । १० जना प्रतिनिधि चयन हुनेमा ३३ जनाले उम्मेदवारी दिएका थिए ।
गण्डकीबाट जिल्ला, प्रदेश कमिटी र श्रमिक क्षेत्र गरेर १ सय ३७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने सचिव दवाडीले बताए । गण्डकीबाट खुलातर्फ ६४, महिलातर्फ ३९, युवातर्फ १८, उत्पीडित १६ जना महाधिवेशन प्रतिनिधि रहने उनले जनाए ।
कास्कीबाट २३, स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट १५, पर्वतबाट १४, तनहुँबाट १२, बागलुङबाट ११, लमजुङबाट १०, गोरखाबाट ९, म्याग्दीबाट ६, मनाङ र मुस्ताङबाट ५–५ जना प्रतिनिधि चयन हुनेछन् । श्रमिक क्षेत्रबाट ७ र प्रदेश कमिटीबाट ५ जना प्रतिनिधि चयन भएको दवाडीले बताए ।
