यःमरी प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
कास्की — संस्कृति संरक्षणको उद्देश्यले पोखरामा आगामी शनिबार छैंटौ संस्करणको यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेवाः मिसा पुचः कास्कीसँगको सहकार्यमा पोखरा महानगरपालिका–४ ले पोखराको पुरानो बजार एवं नेवारहरुको बस्ती गणेश टोलको सडकमा महोत्सव गर्न लागेको हो ।
महोत्सवमा नेवारी परिकार बिक्री, यःमरी प्रतियोगिता, झाँकी प्रदर्शनी, ब्याण्डको प्रस्तुति र विभिन्न विद्यालयका विद्यार्थीको नृत्य प्रस्तुत हुने पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनकाअनुसार महोत्सवमा नेवारी परिकारका ६ वटा स्टल रहनेछन् । महोत्सवमा बिक्री गरिने चाकुको यःमरीलाई ८० र खुवाको यःमरीलाई १ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
यःमरी प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुने समूहको यःमरी चाख्नेबाहेक प्रश्नोत्तरलाई पनि मूल्यांकनको आधार बनाइने नेवाः मिसा पुचः कास्की अध्यक्ष संगीता बज्राचार्यले बताइन् । ‘यःमरी चाख्नेबाहेक कसरी बनाइयो, के–के प्रयोग भयो भनेर र योसँगै सम्बन्धित विषयमा प्रश्नलाई पनि अंक दिन्छौं । यो भएपछि आफूले बिक्री गर्ने परिकारबारे पनि तयारी गरेर आउनुहुन्छ,’ उनले भनिन् ।
महोत्सव गणेश टोलको सडकमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ ।
