प्रदेशको उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले उद्योग दिवसको अवसरमा बागमतीका १४ जना नवउद्यमीहरुलाई सम्मान गरेको हो ।
What you should know
हेटौंडा — ११ औं उद्योग दिवसको अवसरमा बागमती प्रदेशको उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले मंगलबार एक समारोहबीच प्रदेशका १४ जना नवउद्यमीहरुलाई ‘उत्कृष्ट नवउद्यमी सम्मान’प्रदान गरिएको छ ।
‘औद्योगिक वातावरण सुधार दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नारा रहेको उद्योग दिवसको अवसरमा बागमती प्रदेशका १३ जिल्लाका १३ जना नवउद्यमी र एक जना सर्वोत्कृष्ट नवउद्यमी छनोट गरी सम्मान गरिएको हो ।
चिया कृषि फार्म नुवाकोटका शेल्कर तामाङलाई सर्वोत्कृष्ट नवउद्यमी सम्मान प्रदान गरिएको थियो । मकवानपुरको थाहा नगरको ज्योति दामन कृषि फार्म, काभ्रेको नमुना एग्रो प्रोडक्स, दोलखाको ग्लेक्सी मौरी फर्म, भक्तपुरको चम्पक पाउ उद्योग, काठमाडौंको द हाइल्यान्ड आर्ट फेसन डिजाइन एन्ड ट्रेनिङलाई उत्कृष्ट नवउद्यमी सम्मान प्रदान गरिएको थियो ।
यसैगरी सिन्धुपाल्चोकको जौडाँडा ढाका उद्योग र रसुवाको राजेश कृषि तथा पशुपन्छी फर्म छनोटमा परेका छन् ।
यस्तै, उत्कृष्ट फर्ममा छनोटमा परेकामा ललितपुरको स्पेसन पुष्टकारी उद्योग, नुवाकोटको नमुञ्चेत कृषि फर्म, रामेछापको हिमालयन ह्यान्डीक्राफ्ट एग्रो नेपाली कागज उद्योग, सिन्धुलीको उज्यालो साबुन उद्योग, धादिङको पवित्रा कृषि तथा पशुपन्छी फर्म र भरतपुरको अर्वान नेस्ट बुटिक एन्ड रेन्टल हाउस रहेका छन् ।
सर्वोत्कृष्ट र उत्कृष्ट नवउद्यमीहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्मान प्रदान गरेका थिए । सर्वोत्कृष्ट उद्यमीलाई एक लाख रुपैयाँ र अन्य १३ जना उत्कृष्ट उद्यमीलाई जनही ४० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
मन्त्रालयले प्रदेशभित्र उद्यम सञ्चालन गरी प्रदेशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउने उद्यमीमध्येबाट छनोट गरी उद्योग दिवसका अवसरमा उत्कृष्ट उद्यमीलाई सम्मान गर्दै आएको छ । उद्योग वाणिज्य मन्त्री विन्दु श्रेष्ठको सभापतित्वका सञ्चालित उक्त कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलगायतको उपस्थिति रहेको थियो । मुख्मन्त्री कार्यालयको परिसरमा आयोजित उक्त कार्यक्रममा सर्वोत्कृष्ट र उत्कृष्ट नवउद्यमीहरुको उत्पादित वस्तुहरुको १४ वटा स्टल राखिएको थियो ।
