बसमा ठक्कर खाएर सडकमा पल्टिएको बेला विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
नवलपुर — पूर्वी नवलपरासीको कावसोतीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत कावावासोती १६ डण्डामा दुर्घटना भएको हो । कावासोतीबाट डण्डातर्फ जाँदै गरेको ना ४३ प ३४३६ नम्बरको मोटरसाइकल कर्णाली प्रदेश ०२-००१ख ०५६४ नम्बरको बसमा ठक्कर खाएर सडकमा पल्टिएको थियो । त्यहीबेला विपरीत दिशाबाट आइरहेको ना ६ ख ४८१३ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कर्यालय नवलपुरका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कावासोती-१६ का ४२ वर्षीय हिराबहादुर परियारको मृत्यु भएको छ । घाइते परियारको उपचार क्रममा मध्यबिन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा कावासोती-३ बस्ने वर्ष ३२ की सुनिता जोहार्जा र कावासोती १४ का मीना मगर घाइते भएका छन् ।
