मनाङको तालडाँडामा ढुंगासहित पहिरो खस्दा बेंसीसहर-चामे सडक अवरुद्व 

अहिले मनाङ मर्स्याङ्दी हाइड्रोपावरको एउटा एक्स्काभेटर र ब्ल्याकहो लोडरले पहिरो पन्छाउने काम गरिरहेको छ

मंसिर ५, २०८२

आश गुरुङ

Landslide with rocks in Taldanda, Manang blocks Besisahar-Chame road

मनाङ — मनाङको नासों गाउँपालिका १, तालडाँडामा शुक्रबार बिहान ठूला २ वटा ढुङ्गासहित पहिरो जाँदा बेंसीसहर चामे सडक अवरुद्व भएको छ । शुक्रबार बिहान करिब ७ बजेतिर पहिरो झरेको र साढे ९ बजेतिर एकतर्फी खुलाएकोमा ठूलो ढुङ्गा झरेपछि सडक पुन: अवरुद्व भएको हो । 

सडकको ठूलो ढुङ्गा पन्छाउने क्रममा माथिबाट अर्को ठूलो ढुङ्गा झरेको र थप पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । 

उनका अनुसार अहिले मनाङ मर्स्याङ्दी हाइड्रोपावरको एउटा एक्स्काभेटर र ब्ल्याकहो लोडरले काम गरिरहेको बताए ।

२ वटा मेसिनले पहिरो पन्छाउन नसकेपछि लालुपाते हाइड्रोपावरबाट थप एउटा एक्स्काभेटर ल्याएर बाटो खुलाउने तयारी गरिएको उनले बताए । सडकमा अवरुद्व भएपछि चक्रीय अन्नपूर्ण पदमार्गमा आएका विदेशी तथा स्वदेशी पर्यटक रोकिएका छन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully