पुलको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलन्यास गरेका छन् ।
गोरखा — मनकामना मन्दिर पुग्ने स्याउली बजार–भट्टफाँट–मनकामना सडक खण्डअन्तर्गत लुदिखोलामा मोटरेवल पुल निर्माण सुरु भएको छ । ७ करोड ५९ लाख ३० हजार रुपैयाँ लागतमा बन्ने मोटरेवल पुलको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलन्यास गरे ।
भट्टफाँटस्थित लुदिखोलामा मोटरेवल पुल निर्माण भएसँगै स्याउली बजार हुँदै मनकामनासम्म बाह्रैमास गाडी चल्न सहज बन्ने अपेक्षा गरिएको छ । पुल निर्माणको जिम्मा गणेशकुण्ड इन्फास्ट्रक्चर एण्ड वुल्डरर्सले पाएको छ । असोज २५ गते पुल निर्माणको ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले २०८४ असारसम्म पुल निर्माण सकिसक्ने लक्ष्य राखेको छ ।
पुल प्रि–स्टेस, टि–विम प्रविधिमा निर्माण हुने पूर्वाधार कार्यालय गोरखाले जनाएको छ । पुल निर्माण भएसँगै गोरखा नगरपालिका तथा शहीद लखन गाउँपालिकाका स्थानीयहरुलाई सहज हुने पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए । शहीद लखन गाउँपालिकाका स्थानीयलाई सदरमुकाम तथा गोरखा बजार र काठमाडौंसम्म पुग्न सहज बन्ने छ ।
त्यस्तै शहीद लखन गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म पुर्याउन पनि सहज बन्ने अपेक्षा गरिएको छ । पुल निर्माणले स्थानीयलाई निकै सहज बन्ने शहीद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले बताइन् । पुल निर्माणसँगै मनकामनासम्म पुग्ने सडक कालोपत्रका लागि बजेट व्यवस्थापन गर्न पनि प्रदेश सरकारसँग उनले माग गरिन् ।
पुल निर्माण छिटो सम्पन्न गर्न गाउँपालिकाको तर्फबाट पनि सहयोग रहने उनको भनाइ छ ।
