७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

सडक खुलेपछि चक्रीय अन्नपूर्ण पदमार्गमा आएका विदेशी तथा स्वदेशी पर्यटक साथै अन्य यात्रु गन्तव्यतर्फ हिँडेका छन् ।

मंसिर ५, २०८२

आश गुरुङ

Besisahar-Chame road reopens after 7 hours

मनाङ — मनाङको नासोँ गाउँपालिका-१, तालडाँडामा पहिरो जाँदा अवरुद्व बेँसीसहर-चामे सडक करिब ७ घण्टापछि खुलेको छ । 

शुक्रबार बिहान करिब ७ बजेतिर पहिरो झरेको र बाटो खुलाउने क्रममा ठूलो ढुंगा झरेपछि सडक अवरुद्व भएको थियो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार दुईवटा ठूला ढुंगामध्ये एउटालाई हटाउनुका साथै पहिरो पन्छाएपछि सडक खुलेको हो । सडक सवा २ बजेतिर खुलेको उनले बताए ।

सडक खुलाउन मनाङ मर्स्याङ्दी हाइड्रोपावरको एक्स्काभेटर र ब्याकहो लोडरको प्रयोग गरिएको थियो । सडक खुलेपछि चक्रीय अन्नपूर्ण पदमार्गमा आएका विदेशी तथा स्वदेशी पर्यटक साथै अन्य यात्रु गन्तव्यतर्फ हिँडेका छन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully