वडा कार्यालयको सिफारिस नपाउँदा मुआब्जा प्राप्तिमा ढिलाइ

स्थानीयले गरेको अवरोध र मुआब्जा विवादमा भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको टावर विस्तारको काम लम्बिएको थियो । 

मंसिर ४, २०८२

नवीन पौडेल

Delay in receiving compensation due to lack of recommendation from ward office

नवलपुर — भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निमार्णको काम सम्पन्न भए पनि प्रभावित क्षेत्रका एक जनाले अझै मुआब्जा पाएका छैनन् । प्रशारण लाइनको टावर विस्तारमा स्थानीयले गरेको अवरोध र मुआब्जा विवादमा आयोजनाको काम लम्बिएको थियो । 

आयोजना प्रभावित क्षेत्र पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ का ३९ जनामध्ये ३८ जनाले मुआब्जा प्राप्त गरेको र स्थानीय लाम बहादुर गुरुङ्गले अहिलेसम्म रकम प्राप्त गर्न नसकेको बताए । 

प्रसारण लाइन विस्तार क्रममा आफ्नो धेरै जग्गा पर्ने हुँदा जीविकोपार्जनमा नै समस्या हुने भन्दै कानुनी उपचारमा गएपछि वडा अध्यक्षले आफूविरुद्ध मुद्दा हालेको भन्दै वडाध्यक्षले सिफारिस रोक्दा आफू मुआब्जाबाट वञ्चित हुनुपरेको  गुरुङ्गले बताए । 

प्रभावित क्षेत्रका स्थानीयले प्रशारण लाइनको टावर बस्तीभन्दा पर सानुपर्ने माग गर्दै सर्वोच्च र पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । सर्वोच्च र उच्च अदालतबाट मुआब्जा दिएर काम अगाडि बढाउन आयोजनालाई बाटो खुल्ला गरेपछि टावर राख्ने काम गरिएको थियो । 

तर, अहिले एक जनालाई मात्र वडाले सिफारिस नदिएर अन्याए गरेको पीडितको भनाइ छ । विनयी त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष पुष्पा आले मगरले पहिला मुआब्जा नलिएर कानुनी प्रक्रियामा गएकाले अदालतको फैसलाको पूर्णपाठ आएपछि मात्र सिफारिस दिने प्रतिक्रिया दिइन् । मुआब्जा पाउनुपर्ने गुरुङ्गले २०८२ भदौ ८ गते सिफारिसका लागि वडा कार्यालयमा निवेदन दिएका थिए । लामो समयको विवाद पछि यो आयोजना सम्पन्न हुन करिब १५ वर्ष लागेको थियो ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully