जलविद्युत् आयोजना बन्न नदिने अडानमा बेँसीसहरवासी, सामाजिक-वातावरणीय प्रभाव र प्राकृतिक जीवनचक्र खलबलिने चिन्ता

५० मेगावाटको आयोजना निर्माण हुन नदिने भन्दै स्थानीयले २७ सदस्यीय मर्स्याङ्दी संघर्ष समिति गठन गरेका छन् । आयोजनाबाट हुन सक्ने १४ वटा असरलाई फ्लेक्स प्रिन्ट ठाउँठाउँमा टाँगेका छन् ।

मंसिर ४, २०८२

आश गुरुङ

Besisahar residents are determined not to allow the construction of a hydroelectric project, concerned about socio-environmental impacts and disruption of the natural life cycle

What you should know

लमजुङ — लमजुङको बेँसीसहरवासीले मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजना बन्न नदिने भन्दै एकसूत्रीय माग राखेका छन् ।

आयोजना निर्माणको विरोधमा गठित मर्स्याङ्दी बचाऔं संघर्ष समितिको अगुवाइमा ‘मर्स्याङ्दी बचाऊ अभियान’ अन्तर्गत बिहीबार सदरमुकाम बेँसीसहरमा विरोध र्‍याली निकालिएको छ ।

राजनीतिक दलका स्थानीय नेताका साथै जनप्रतिनिधि समेतको उपस्थितिमा बेँसीसहरको मनाङे चौतारादेखि सुरु भएको र्‍याली नारायणस्थान चोक, जिल्ला प्रशासन कार्यालय, दनाईंफाँट चोक, शेरा चोक–नारायणस्थान चोक हुँदै भीमसेनस्थान चोकमा पुगेर सभामा परिणत भयो । र्‍यालीमा संघर्ष समितिसँगै कांग्रेस जिल्ला उपसभापति श्रीकान्त घिमिरे, एमाले सचिवालय सदस्य जुनबहादुर तामाङ, रास्वपा बेँसीसहर नगर समिति सभापति मेनकाजी अधिकारी, विघटित माओवादी केन्द्र, राप्रपालगायत पार्टीका स्थानीय नेता कार्यकर्ता, युवा क्लव र आमा समूह, विद्यालयका प्रिन्सीपललगायतको समेतको सहभागिता थियो ।

मर्स्याङ्दीमा ५० मेगावाटको मर्स्याङ्दी बेँसी जलविद्युत आयोजना निर्माण हुन नदिने भन्दै स्थानीयले २७ सदस्यीय मर्स्याङ्दी बचाऔं संघर्ष समिति समेत गठन गरेका छन् । समितिले मर्स्याङ्दीमा जलविद्युत् आयोजना निर्माण गर्दा हुन सक्ने १४ वटा असरलाई फ्लेक्स प्रिन्ट बनाएर बेँसीसहरका ठाउँठाउँमा टाँगेका छन् । आयोजना निर्माण गर्न नदिने भन्दै चोक चोकमा हस्ताक्षर संकलन समेत गरिरहेका छन् । समितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बेँसीसहर नगरपालिकामा बोधार्थ समेत दिएका छन् ।

मर्स्याङ्दीमा जलविद्युत् आयोजना निर्माण गर्दा धर्म, संस्कृति, संस्कार र मानव सभ्यता नष्ट हुने, पानी र त्यसको स्रोत बन्द हुने, प्राकृतिक सौन्दर्य हराउने र स्थानीयको जीविकोपार्जन खोसिने उनीहरुको भनाइ छ । अत्यधिक भू–क्षय एवम् पहिरो जाने, वातावरणको प्राकृतिक जीवनचक्र बिग्रने, नदी नहुँदा वरपर तापक्रम वृद्धि हुने, अल्प वृष्टि र अति वृष्टि हुने, वातावरणीय प्रणाली असन्तुलन हुने हुँदा हिमताल विस्फोट र ठूलो बाढी आउँदा बाँध फुटेर धनजनको क्षति हुनेतर्फ पनि उनीहरुले सचेत गराएका छन् । नदीमा निर्भर पर्यटन लगायत व्यवसाय बन्द हुने, पानीमा आश्रित जीवको जीवन समाप्त हुने, सुन्दर प्रकृति हराउने, ठूला मेसिन तथा विस्फोटले भूवनावटमा असर पुग्ने, जमिन सुक्खा र रुखो हुँदा बस्ती खण्डहर र मरुभूमिमा परिणत हुने स्थानीयको भनाइ छ ।

र्‍यालीलाई सम्बोधन गर्दै मर्स्याङ्दी बचाउ अभियान संघर्ष समितिका संयोजक रामबहादुर थापाले जलविद्युत् आयोजना निर्माण हुन नदिने एकसूत्रीय माग राखेर अघि बढेको बताए । ‘हाम्रो माग मर्स्याङ्दीमा ५० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजना बनाउन पाइँदैन, भोलि अर्को आए त्यो पनि बनाउन पाइँदैन, हाम्रो एकसूत्रीय माग हो,’ उनले भने, ‘हामी हाम्रो मागमा एक इन्च तलमाथि हुँदैनौं । बरु ज्यान जाला, मर्स्याङ्दीमा आयोजना बन्न दिँदैनौं ।’ संघर्ष समितिको अभियानलाई कांग्रेस जिल्ला कार्य समिति लमजुङले एक वक्तव्य निकालेर समर्थन गरेको छ ।

बेँसीसहर नगरपालिका–६, बेलौती बिसौना र वडा नं. १० को लेतेफाँट सीमानामा ड्याम (बाँध) बनाएर बेँसीसहर नगरपालिका १०, सालडाँडामुनि विद्युतगृह निर्माण गरेर विद्युत उत्पादन गर्ने गरी आयोजनाले पूर्वाधार निर्माणकार्य अघि बढाएको छ ।

यो आयोजनाले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयवाट २०६५ असोज ३० गते सर्वेक्षण अनुमति पत्र प्राप्त गरी २०७४ असोज १ मा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृत गरेको जनाएको छ । त्यसपछि आयोजनाले २०७५ भदौ १० मा आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको उल्लेख गरेको छ ।

करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवर्द्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकबाट प्रवाह हुने आयोजनाले जनाएको छ । दिव्यज्योति हाइड्रोपावर लिमिटेडले सुरु गरेको यो आयोजना अपि पावर कम्पनी लिमिटेडले ५१ प्रतिशत बढी शेयर लिएर पूर्वाधार निर्माणकार्य अघि बढाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully