लमजुङबाट आवेदन दिएका १ हजारभन्दा बढीको राहदानी आएन

समयमै राहदानी नआउँदा वैदेशिक रोजगारीमा जाने, छुट्टीमा आएका, अध्ययन तथा भ्रमणका लागि विदेश जाने तयारीका नागरिकहरू समस्यामा परेका छन् ।

मंसिर ३, २०८२

आश गुरुङ

Passports for over 1,000 applicants from Lamjung not received

What you should know

लमजुङ — जिल्ला प्रशासन कार्यालय लमजुङमार्फत आवेदन दिएका १ हजारभन्दा बढीको राहदानी प्रिन्ट भएर नआउँदा नागरिकहरू समस्यामा परेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार भदौ १९ गतेपछि संकलन गरिएका आवेदनको राहदानी प्रिन्ट भएर आएको छैन ।

समयमै राहदानी नआउँदा वैदेशिक रोजगारीमा जाने, छुट्टीमा आएका, अध्ययन तथा भ्रमणका लागि विदेश जाने तयारीका नागरिकहरू समस्यामा परेका छन् ।

पछिल्लो समय असोज २१ गते हुलाकमार्फत १ सय ९५ वटा राहदानी प्राप्त भएको थियो । त्यसपछि राहदानी प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय राहदानी फाँटकी नासु (नायब सुब्बा) नेत्रकाशी गुरुङले बताइन् । ‘साढे २ महिनादेखिको राहदानी आएको छैन । राहदानी नै नआएको साढे १ महिना भयो,’ उनले भनिन् ।

उनका अनुसार मंगलबारसम्म संकलित नयाँ ८ सय ९ जना, नवीकरणका लागि आवेदन दिएका १ सय ३८, हराएका ५५, बिग्रिएको १ जना गरी १ हजार ३ जनाको आवेदन संकलन गरिएको छ । संकलितमध्ये ३२ जना नाबालकका आवेदन छन् । संकलित आवेदनमध्ये सुरुका एक लट प्रिन्टमा गएको जानकारी विभागबाट २ साताअघि प्राप्त भएको थियो । तर, प्रिन्ट भएर नआएको नासु गुरुङले बताइन् ।

उनका अनुसार १ दिनमा ५५ जनासम्मको आवेदन लिने गरेकोमा राहदानी विभागले कार्तिक १६ गते सूचना प्रकाशित गरी नयाँ आपूर्ति र हालको आपूर्तिबीचको संक्रमणकालीन अवस्था, राहदानीको सीमितता र उच्च मागका कारण सेवा प्रभावित भएको र अत्यावश्यक सेवाग्राहीले मात्रै आवेदन पेस गर्न भनेको छ । त्यसयता दैनिक १२/१५ जनाले मात्रै आवेदन दिने गरेको उनले बताइन् ।

सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले विभागमा पासपोर्ट नभएका कारण आवेदन दिएकाहरूले लामो समयसम्म राहदानी पाउन नसकेको बताए । उनका अनुसार यसअघि महिनामा २ पटक राहदानी प्रिन्ट भएर आउँथ्यो । पछिल्लो जेनजी आन्दोलनपछि राहदानी आउन नसकेको उनले बताए ।

‘विभागमा राहदानी सीमित मात्र छ भनी सूचना जारी भएको छ । अत्यावश्यक चाहिनेले दोब्बर दस्तुर तिरेर राहदानी लिने भन्दै विभागमा गएका छन् । सर्वसाधारणलाई त समस्या नै छ,’ उनले भने । उनका अनुसार राहदानी बनेर आएपछि दैनिक ४०/४५ जनालाई वितरण हुन्थ्यो । अहिले दैनिक १०/१२ जना आउने गरेका छन् । राहदानी लिन आएकाहरू कतिपय राहदानी नआएपछि फर्किन बाध्य छन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully