दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए ।
तनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा बुधबार साँझ भएको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा चितवनको इच्छाकामना गाउँपालिका–५ का ३१ वर्षीय पुष्पलाल श्रेष्ठ रहेको जिल्ला प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए । दुर्घटनामा घाइते भएका पाँच जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको से१च ६५१ नम्बरको जिप चालकले नियन्त्रण गुमाइ सडकमा पल्टिएको थियो । जिपमा ११ जना सवार रहेका थिए ।
घाइते हुनेमा चितवनको इच्छाकामना गाउँपालिका–२ बस्ने २० वर्षीया दोमाया गुरुङ, २६ वर्षीय जितबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अचित गुरुङ, कालिका नगरपालिका–८ बस्ने ३४ वर्षीया सरस्वती गुरुङ रहेका छन् । चालकसहित अन्य पाँच जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
