निर्माणाधीन विजयपुर पुलमा गिर्डर राख्न मंसिर ११ गतेसम्म आवातजावत बन्द गर्न लागिएको हो ।
कास्की — एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ ।
निर्माणाधीन विजयपुर पुल (साविकको लेखनाथ र पोखरा जोड्ने पुल)मा गिर्डर राख्न मंसिर ११ गतेसम्म आवातजावत बन्द गर्न लागिएको हो ।
बिहान ६ देखि ८ बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म आवतजावत रोकेर काम हुने मुग्लिङ पोखरा सडक योजना पश्चिम खण्ड प्रमुख कृष्णबहादुर कुँवरले बताए । रातको समयमा गिर्डर (कंक्रिट बीम) जडान गर्न अति संवेदनशील हुने भएकाले दिउँसोको समयमा काम गर्न लागिएको उनले बताए । उनका अनुसार दुई लेनको प्रिकास्ट तथा प्रिस्ट्रेस प्रविधिको पुलमा जडान गर्न १५ वटा गिर्डर तयार भइसकेको छ ।
९ दिनसम्म विजयपुर खण्ड बन्द हुँदा पोखरा आउजाउ गर्न दुई वटा वैकल्पिक सडक प्रयोग गर्न मिल्नेछ । दुईपांग्रे तथा साना सवारी बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउजाउ गर्न मिल्छ । ठूला सवारी पावरहाउस चोकदेखि बाघमारा हुँदै बिरौटा आउजाउ गर्न सक्नेछन् ।
बन्द हुने चार घण्टाको समयमा वैकल्पिक मार्ग प्रयोग नगर्ने सवारीलाई चाप हेरेर ३०–३० मिनेटको फरकमा आवातजावत गर्न दिइनेछ ।
