हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण

उक्त भवन ढुंगा, माटो, झिगटी, काठ लगायतबाट पौराणिक तथा पुरातत्विक महत्त्वलाई ध्यानमा राखेर निर्माण गरिएको गिरीले बताएका छन् ।

मंसिर २, २०८२

डम्बरसिं राई

Construction of Kirat cultural stove house in Halesi

खोटाङ — विश्व प्रशिद्ध हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण गरिएको छ । हिन्दू, बौद्ध र किरातको त्रिधार्मिकस्थलको रूपमा परिचित हलेसीको बसाहागुफा अगाडि उक्त चुला घर निर्माण गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता तथा वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा हलेसी तुवाचुङ नगरपालिकाको १५ लाख बजेटबाट डीपीआर र भवनको जग निर्माण गरिएको र आर्थिक वर्ष २०८१/८२ मा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ३० लाख गरी ४५ लाख रूपैयाँको बजेटबाट निर्माण गरिएको हो ।

‘ऐतिहासिक त्रिधार्मिकस्थलको संगमस्थल भएकाले हिन्दूहरूको आरध्यदेव हलेश्वर महादेव, बौद्धहरूको गुरु पद्मसम्भवले आयुको आरधना गरेको ठाउँ र किरातीहरूको उद्गमस्थलको रूपमा चिनिएको स्थल हो हलेसी’ गिरीले भने, ‘त्यही भएर किरातीहरूको चुला घर (माङखिम) निर्माण गरिएको हो, विश्वभरबाट आउने तीर्थालु भक्तजन तथा पर्यटकहरूले किरातीहरूको सांस्कृतिक चुला घर अवलोकन गर्न पाउनु हुने भएको छ ।’

उक्त भवन ढुंगा, माटो, झिगटी, काठ लगायतबाट पौराणिक तथा पुरातत्विक महत्त्वलाई ध्यानमा राखेर निर्माण गरिएको गिरीले बताएका छन् । सुरुमा उक्त चुलाघर निर्माणका लागि जग्गामा विवाद भएका कारण केही ढिलो भएको समेत गिरीले सुनाएका छन् । ‘सुरुमा जग्गाको बारेमा केही विवाद भएको थियो, तर जनप्रतिनिधिहरूको पहल कदमीले विवाद समाधान गरी भवन निर्माण गरियो’, गिरीले भने ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully