आर्थिक वर्ष २०८१/८२ मा आरकेडी होल्डिङ्सले २ करोड १६ लाख ४९ हजार १ सय ४१ रुपैयाँ र खिलुङ्कालिकाले ८५ लाख ८६ हजार ५ सय १४ रुपैयाँ कर तिरेका थिए ।
What you should know
काठमाडौँ — राष्ट्रिय कर दिवस-२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले कास्की र स्याङ्जाका एक–एक उत्कृष्ट करदातालाई सम्मान गरेको छ । सबैभन्दा बढी कर तिरेका करदातामध्ये कास्कीबाट आरकेडी होल्डिङ्स र स्याङ्जाबाट खिलुङ्कालिका कन्स्ट्रक्सन प्रालि सम्मानित भएका हुन् ।
उनीहरूलाई प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा र कर अधिकृत शिवप्रसाद ढुंगानाले दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए । आर्थिक वर्ष २०८१/८२ मा आरकेडी होल्डिङ्सले २ करोड १६ लाख ४९ हजार १ सय ४१ रुपैयाँ र खिलुङ्कालिकाले ८५ लाख ८६ हजार ५ सय १४ रुपैयाँ कर तिरेका थिए ।
आन्तरिक राजस्व कार्यालय पोखराका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म १ अर्ब ५० करोड २० लाख राजस्व संकलन भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सोही अवधिसम्म १ अर्ब ४८ करोड संकलन भएको थियो, जुन यस वर्ष १ करोड ५४ लाखले बढी हो । गत वर्ष कात्तिक मसान्तसम्म १ अर्ब ६६ लाख ६६ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यसको कार्यक्षेत्र कास्की र स्याङ्जा जिल्लामा रहेको छ । स्याङ्जामा रहेको सेवा कार्यालय भने यस वर्षदेखि हटाइएको छ ।
सम्मानित करदाता आरकेडी होल्डिङ्सका सञ्चालक रामचन्द्र शर्माले नयाँ उद्यमीहरूलाई राज्यले थप सहयोग गर्नुपर्नेमा जोड दिए । कर तिर्नु ठूलो चुनौती नभए पनि वित्तीय साक्षरतामा सुधार आवश्यक भएको उनको भनाइ थियो । साथै, कर बुझाउने प्रणाली धेरै ठाउँमा विभाजित भएकाले त्यसको एकीकरण गर्नुपर्ने माग उनले राखे ।
आन्तरिक राजस्व कार्यालय पोखराअन्तर्गत कात्तिक मसान्तसम्म ६९ हजार ८ सय ६ व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता दर्ता भएका छन् । जसमध्ये मूल्य अभिवृद्धि करमा १२ हजार ८ सय ६९ र अन्तःशुल्कमा ४ हजार ५ सय ४२ करदाता आबद्ध छन् । त्यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या २ लाख १८ हजार १ सय २९ पुगेको छ ।
