आगजनीको दुई महिनापछि मौलाकाली केबलकार सञ्चालनमा

सोमबार बिहानबाट परीक्षण सुरु गरिएको छ भने मंगलबार साँझबाट व्यवसायिक सञ्चालनमा आउनेछ ।

मंसिर १, २०८२

नारायण शर्मा

Maulakali Cable Car back in operation two months after arson

नवलपरासी — गैंडाकोटस्थित मौलाकाली केबलकार दुई महिनापछि सञ्चालनमा आएको छ । भदौ २४ गते प्रदर्शनकारीले केबलकारमा आगजनी गरेका थिए ।

केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार अस्ट्रियाबाट आएका इन्जिनियरले केबलकारको मर्मत तथा पुनर्निर्माणको काम गरेर सोमबार बिहानबाट परीक्षण सुरु भएको हो । मंगलबार साँझबाट व्यवसायिक रुपमा सञ्चालनमा आउने उनले बताए । 

केबलकार सेवा पुनः सञ्चालन हुने भएपछि पर्यटकीय तथा धार्मिक गन्तव्य मौलाकाली मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज भएको छ । भदौ २४ को तोडफोड र आगजनीबाट केबलकारको बटम स्टेसनमा पूर्ण क्षति पुगेपछि केबलकार बन्द थियो । 

केबलकारमा १२ वटा डब्बा रहेका छन । जसमा एकपटकमा ९६ जना ओहोरदोहोर गर्न सक्छन् । १२ सय मिटर लम्बाइको यो केबलकारबाट माथिल्लो स्टेसन पुग्न ५ मिनेट समय लाग्छ । गत साउनसम्मको साढे दुई वर्ष अवधिमा करिब ६ लाख दर्शनार्थीले ओहोरदोहोर गरेको पौडेलले जानकारी दिए । 

यहाँ दैनिक ५ सयदेखि १० हजारसम्म दर्शनार्थी आउने गरेको तथ्यांक छ । केबलकारको माथिल्लो स्टेसनबाट देवघाट, चितवन र नवलपरासीका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully