पाँच महिनासम्म शव व्यवस्थापन हुन नसक्दा आसपासमा दुर्गन्ध फैलन थालेको छ ।
गोरखा — बेवारिसे अवस्थामा भेटिएका शवले प्रदेश अस्पताल गोरखाको शवगृह भरिएको छ । दुई शव राख्ने क्षमता भएको गृहमा पाँच महिनादेखि चार वटा शव छन् ।
लामो समयसम्म शव व्यवस्थापन हुन नसक्दा आसपासमा दुर्गन्ध फैलन थालेको स्थानीय बताउँछन् ।
शव व्यवस्थापनमा ढिलाई हुँदा पोष्टमाटम गर्न पनि असहज बनेको प्रदेश अस्पताल गोरखाका मेडिकल सुपरिटेन्डेन्ट सिद्धार्थ खनालले बताए । ‘दुई शव राख्न सकिने ठाउँमा चार वटा म्यानेज गरिएको छ,’ उनले भने,‘अब अर्को शव आए राख्ने ठाउँ छैन, शव व्यवस्थापन नहुँदा पोष्टमार्टममा पनि समस्या छ ।’
शवगृहभित्रको चिस्यान केन्द्रमा रहेका शवको पोष्टमार्टम पनि भएको छैन । ‘बेवारिसे अवस्थामा भेटिएका शव पाँच महिनासम्म थन्किँदा दुर्गन्ध फैलन थालेको छ,’ उनले भने,‘लगातार पाँच महिना शव रहँदा चिस्यान केन्द्रको अवस्था मर्मत गर्न पाएनौं ।’
बेवारिसे अवस्थामा भेटिएका शवको स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने प्रावधान छ । गोरखा नगरपालिकासँग शव व्यवस्थापनका लागि सहजीकरण भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले बताए ।
बेवारिसे शव व्यवस्थापनका लागि ठाउँ खोज्ने काम भइरहेको गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले बताए । ‘स्थानीय प्रभावित नहुने गरी ठाउँ खोज्दै छौं, केही समयमै समाधान हुन्छ,’ उनले भने ।
