हिँडडुल गर्न र बोल्न नसक्ने २८ वर्षीय श्रेष्ठले जिल्ला प्रशासनसम्म आएर नागरिकता बनाउन सकेका थिएनन् ।
गोरखा — शारिरीक रुपमा अशक्त सन्तोष श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय गोरखाले घरमै पुगेर नागरिकता उपलब्ध गराएको छ ।
गोरखा नगरपालिका–३ घलाङका श्रेष्ठलाई सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसहितको टोलीले घरमै पुगेर नागरिकता उपलब्ध गराएको हो ।
हिँडडुल गर्न र बोल्न नसक्ने श्रेष्ठले जिल्ला प्रशासनसम्म आएर नागरिकता बनाउन सकेका थिएनन् । उनले २८ वर्षको उमेरमा नागरिकता पाएका हुन् ।
नागरिकता पाएसँगै उनले सामाजिक सुरक्षा भत्तालगायतका सरकारी सुविधा प्राप्त गर्न सहज हुने सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । ‘उहाँको परिवारको आर्थिक अवस्था पनि कमजोर रहेछ,’ उनले भने,‘ घरबाट बोकेर प्रशासनसम्म ल्याउन पनि समस्या रहेछ, प्रक्रिया पूरा गरेर घरमै पुगेर नागरिकता उपलब्ध गराएका हौं ।’
श्रेष्ठसँग ‘क’ वर्गको अपांगता परिचयपत्र छ । नागरिकता बनेकाले अब बैंक मार्फत सामाजिक सुरक्षा भत्ता पाउन सहज हुने पनि उनले बताए ।
