मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन कार्यालयमा भीड

राष्ट्रिय परिचयपत्रका आधारमा घरबाटै अनलाइनमार्फत नाम लेखाउन सकिने भए पनि घटेन कार्यालयमा आउनेको लस्कर ।

कार्तिक २७, २०८२

नवीन पौडेल

Crowds gather at election office to register names in voter rolls

नवलपुर — आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अहिले मतदाता नामावली संकलन भइरहेको छ । मतदानका लागि उमेर पुगेका नयाँ युवा र उमेर पुगेर पनि फोटोसहितको मतदाता नामावली बनाउन छुटेकाहरू अहिले धमाधम जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम लेखाइरहेका छन् ।

एक जनाले रुजु गर्ने, एक जनाले अनलाइन फारम हेर्ने र एक जनाले फोटो खिच्ने काम गर्दा एक दिनमा मुस्किलले सय जनाको मात्र नाम दर्ता हुने गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

अहिले जिल्ला निर्वाचन कार्यालयअगाडि सेवाग्राहीको लामो लाइन लागिरहेको छ । अनलाइनमार्फत कागजपत्र पेस गर्न सकिने भए पनि धेरै मतदातालाई अनलाइन फारम भर्न नआउँदा समस्या भएको हो । 

पूर्वी नवलपरासीमा कार्तिक २७ गतेसम्म २ हजार बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी बाबुराम आचार्यका अनुसार दैनिक १ सयभन्दा बढीले नामावली दर्ता गराइरहेका छन् । ‘सुरुवाती चरणमा सेवाग्राहीको चाप कम थियो, अहिले अन्तिम समयमा कामको चाप बढेको छ,’ उनले भने, ‘अधिकांश मतदाता युवा उमेर समूहका छन् । अब राष्ट्रिय परिचयपत्रका आधारमा घरबाटै अनलाइनमार्फत नाम लेखाउन सकिने भएकाले केही सहज हुनेछ ।’

निर्वाचनको तयारी र मतदाता नामावली संकलन दुवै एकैपटक गर्नु परेकाले जनशक्ति अभाव रहेको छ । अनलाइनमार्फत फारम भरेका ८ सयभन्दा बढीको फोटो खिच्ने र अन्य प्राविधिक काम बाँकी रहेको कार्यालयले जनाएको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully