जेन-जी आन्दोलनपछि पहिलोपटक बस्दै गण्डकी प्रदेशसभा

बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन-जी आन्दोलन र प्रदर्शनका क्रममा भएको क्षतिबारे प्रदेशसभालाई जानकारी गराउने कार्यक्रम छ ।

कार्तिक २४, २०८२

रासस

Gandaki Provincial Assembly sitting for the first time since the Gen-G movement

काठमाडौँ — गण्डकी प्रदेशसभा बैठक आज बस्दै छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा दिनको १ बजे बैठक बस्ने प्रदेशसभा सचिव गोविन्द पौडेलले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको क्षतिबारे प्रदेशसभालाई जानकारी गराउने उनले बताए ।

बैठकमा गाँजा खेती र खानी तथा खनिजसम्बन्धी विधेयकमा दफाबार छलफल गरी र पारित गर्ने सम्भावित कार्यसूची छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण स्थगन भएको प्रदेशसभा बैठक दुई महिनापछि बस्न लागेको हो । 

नदीपुरमा रहेको प्रदेशसभा भवन प्रदर्शनकारीले क्षतिग्रस्त बनाएपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा प्रदेशसभा बैठक सञ्चालन हुन लागेको हो । यसअघि गत असोज २२ गते सोही स्थानमा बैठक आव्हान गरिए पनि प्रावधिक तयारी नपुगेका कारण अन्तिम सययमा बैठक स्थगन गरिएको थियो । 

पछिल्लोपटक गत भदौ १६ गते प्रदेशसभा बैठक बसेको थियो । त्यसपछि भदौ २५ गतेलाई बोलाइएको बैठक त्यसको अघिल्लो दिन भदौ २४ मा प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेपछि बैठक बस्न सकेको थिएन । 

पुनः प्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायतका संरचनामा क्षति पुगेकाले प्रदेशसभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको हो । हालै मात्र प्रदेशसभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

रासस

Link copied successfully