उनीहरूको कोठाबाट ३ थान सीपीयू, ३–३ थान किबोर्ड र माउस, १–१ थान प्रिन्टर र मोनिटर, २ थान मल्टिप्लग, ३६ जनाको लाइसेन्स बरामद भएको छ
कास्की — भदौ २४ को जेन-जी आन्दोलनका क्रममा चोरीमा संलग्न दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–५ बस्ने गोरखाका २८ वर्षीय दीपक कुँवर र पोखरा-५ नै बस्ने धादिङका २३ वर्षीय दीपक रानामगर पक्राउ परेका हुन् ।
पोखराका सरकारी, गैरसरकारी र व्यक्तिगत घर, पसलमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेको कार्यालयका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।
उनीहरूको कोठाबाट ३ थान सीपीयू, ३–३ थान किबोर्ड र माउस, १–१ थान प्रिन्टर र मोनिटर, २ थान मल्टिप्लग, ३६ जनाको सवारी चालक अनुमति पत्र (लाइसेन्स)बरामद भएको उनले बताए ।
यसबाहेक बा ५९ प ८४३८ नम्बरको मोटरसाइकल पनि प्रहरीले उनीहरूको साथबाट नियन्त्रणमा लिएको छ । दुवैमाथि आइतबार आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ४ दिन म्याद थप भएको छ ।
