११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन बिदा, सवारी खरिद, भ्रमणसहित चालु शीर्षक विनियोजित बजेट आंशिक तथा पूर्ण कटौती गर्ने निर्णय गरेको थियो ।
कास्की — गण्डकी प्रदेश सरकारले जेन–जी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचना पुनर्निर्माण गर्न चालु आर्थिक वर्षका लागि विनियोजित करिब साढे दुई अर्ब रुपैयाँ बजेट कटौती गर्ने तयारी गरेको छ ।
११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन बिदा, सवारी खरिद, भ्रमणसहित चालु शीर्षक विनियोजित बजेट आंशिक तथा पूर्ण कटौती गर्ने निर्णय गरेको थियो ।
त्यसैअनुसार सफ्टवेयर खरिद खर्च ८० प्रतिशत, अनुगमन–मूल्यांकन, भ्रमण र पत्रपत्रिका खर्च ५०–५० प्रतिशत, मसलन्द र विविध २५–२५ प्रतिशत, इन्धन र सवारी मर्मत खर्च २०–२० प्रतिशत कटौती गरिने आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले बताए ।
क्षति नभएका मन्त्रालयमा रहेको सार्वजनिक सम्पत्ति मर्मत शीर्षकको ५०–५० प्रतिशत बजेट कटौती गर्ने सरकारको योजना छ । जेन–जी आन्दोलनका क्रममा गण्डकीको भौतिक, स्वास्थ्य र कृषि मन्त्रालयमा भौतिक क्षति भएको छैन । जलेर क्षति भएकालाई उपलब्ध गराउनबाहेक अन्यको हकमा नयाँ सवारी खरिद नगरिने गुरुङको भनाइ छ ।
स्वास्थ्यबाहेक अन्य मन्त्रालयले कुनै नयाँ मेसिनरी सामग्री खरिद नगर्ने र क्षति भएका बाहेक अन्य मन्त्रालय–कार्यालयले फर्निचर पनि नकिन्ने गुरुङले सुनाए । यसरी चालु खर्च कटौती गर्दा दुई अर्ब रुपैयाँ बचत हुने सरकारको अनुमान छ ।
‘आन्दोलनका क्रममा प्रदेश सरकारलाई दुई अर्ब जति क्षति भएको छ । चालु खर्च कटौती गर्दा त्यति नै बचत हुन्छ भन्ने अनुमान छ,’ मन्त्री गुरुङले सुनाए, ‘सकारात्मक पाटो हामीले जनतासँग जोडिने विकाससम्बन्धी कुनै बजेट काट्ने छैनौं ।’
प्रदेश सरकारले गत साउनमा ९ वटा कार्यालय खारेज, ३२ कार्यालयलाई गाभेर १७ मा सीमित गर्ने र १ सय ८५ पद कटौती गर्ने गरी प्रशानिक पुनःसंरचनाको निर्णय गरेको थियो । यसबाट ५० करोड गरेर साढे २ अर्ब रुपैयाँ बचत हुने र त्यसलाई पुनर्निर्माणमा खर्च गर्ने योजना सरकारको रहेको उनले सुनाए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख र पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को कुल बजेटमध्ये पहिलो त्रैमासिकमा ८.३१ प्रतिशत रकम खर्च भएको छ । कुल विनियोजित ३१ अर्ब ९८ करोडमध्ये असोजसम्म २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीको तथ्यांक छ ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा कुल बजेटको ९.५५ प्रतिशत खर्च भएको थियो । असोज मसान्तसम्म १ अर्ब १२ करोड ७३ लाख रुपैयाँ चालु र १ अर्ब ५२ करोड ८८ लाख रुपैयाँ पुँजीगत खर्च भएको कार्यालय प्रमुख सुरेश सुवेदीले जानकारी दिए । सरकारले चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख र पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
