केउलेनीमा बाँदरको आक्रमणबाट १४ जना घाइते 

विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बाँदर आतंकले गाउँले असुरक्षित बनेको बताए ।

कार्तिक २२, २०८२

नारायण शर्मा

14 injured in monkey attack in Keulen

नवलपरासी — त्रिवेणीधाममा दुई साताको बीचमा बाँदरको आक्रमणबाट १४ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–६ केउलेनी गाउँमा बाँदर घरघर आएर स्थानीय र चौपायलाई समेत चिथोर्ने र टोक्ने गरेर १४ जनालाई घाइते बनाएको हो  ।

विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बाँदर आतंकले गाउँले असुरक्षित भएको सुनाए । बाँदरले चिथोर्ने र टोक्ने गरेका स्थानीयले रेबिजविरुद्धको भ्याक्सिन लगाएको र त्यो महंगो भएको जानकारी दिए । 'एक जनाले भ्याक्सिन लगाउँदा १८ सय नगद बुझाउन पर्ने रहेछ, कमजोर आर्थिक अवस्थाका गाउँलेलाई उपचारमा समस्या भएको छ,' उनले भने । बाँदर आतंक फैलिएपछि चितवन राष्ट्रिय निकुञ्जमा जानकारी गराउँदासमेत बेवास्ता भएको उनले बताए ।

स्थानीय आँचल जोशीका अनुसार शनिबारसम्म केउलेनी आसपासका स्थानीय र चौपायलाई समेत बाँदरले टोकेर घाइते बनाएको छ । एउटै ठूलो र रातो जातको बाँदरले यहाँका स्थानीय र चौपायलाई समेत टोकेको जोशीले सुनाए । 'एउटै बाँदरमात्र त्यस्तो देखिएकाले त्यसमा रेबिज छ कि भनेर स्थानीय आतंकित भएका छन्,' उनले भने । ७ दिनअघि बाँदरले टोकेको एउटा गाई मरेका कारण पनि रेबिज भएको हो कि भन्ने आशंका बढेको जोशीले सुनाए ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully