सुन र रेडियो चोरी घटना : अर्का फरार प्रतिवादी पनि पक्राउ

सुन र रेडियो चारी मुद्दामा फरार रहेका वालिङ नगरपालिका–१२ घुरुङखाका ६८ वर्षीय गिरीबहादुर गुरुङ बिहीबार पक्राउ परेका हुन् । यसअघि सोही घटनामा संलग्न गल्याङ–७ कल्लेरीका ६८ वर्षीय लालबहादुर राना पक्राउ परेका थिए ।

कार्तिक २०, २०८२

प्रतीक्षा काफ्ले

Gold and radio theft case: Another absconding accused arrested

What you should know

स्याङ्जा — सुन र रेडियो चारी मुद्दामा फरार रहेका अभियुक्तलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो । १ महिना १५ दिन कैद र ४ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका वालिङ नगरपालिका–१२ घुरुङखाका ६८ वर्षीय गिरीबहादुर गुरुङ बिहीबार पक्राउ परेका हुन् ।

गुरुङलाई स्याङ्जा प्रहरीले जिल्ला अदालतमा हाजिर गराई जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी प्रशन्नराज चौधरीले जानकारी दिए ।

घटना २०३५ वैशाख १५ गतेको हो । गल्याङ नगरपालिका–७ कल्लेरीका दिलबहादुर रानामगरको घरबाट सुनका गहना र रेडियो चोरी भएको थियो । २०४५ मंसिर १६ गते जिल्ला अदालतले नकबजनी चोरी मुद्दामा कैद र जरिवना सजायस्वरूप तोकेको थियो । अदालतको फैसलापश्चात् उनी फरार थिए । सादा पोसाकमा खटिएको प्रहरीको टोलीले उनलाई घरबाटै पक्राउ गरेको जनाएको छ ।

यसअघि सोही घटनामा संलग्न गल्याङ–७ कल्लेरीका ६८ वर्षीय लालबहादुर राना पनि पक्राउ परेका थिए । रानालाई सोमबार पक्राउ गरी जिल्ला अदालतमा हाजिर गराएपछि सोही दिन सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, कुटपिट मुद्दाका फरार कसूरदार पनि ३० वर्षपछि बुधबार पक्राउ परेका छन् । २०५२ चैत ८ गते विरुवा गाउँपालिका–४ मा भएको कुटपिट घटनामा संलग्न ७४ वर्षीय थमप्रसाद पोखरेल पक्राउ परेका हुन् ।

जिल्ला अदालतबाट २०५४ वैशाख १० मा भएको फैसलाले उनलाई २ वर्ष कैद र १० हजार रुपैयाँ जरिवना तोकेको थियो । घटनापश्चात् पश्चिम नवलपरासीस्थित बर्दघाटमा बस्दै आएका उनलाई सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई बुधबार नै जिल्ला कारागार चलान गरिएको डीएसपी चौधरीले बताए ।

प्रतीक्षा

Link copied successfully