पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए ।
कास्की — जेन–जी आन्दोलनको मौका छोपेर पोखरामा ट्राफिक प्रहरी कार्यालयबाट मोटरसाइकल चोरी गर्ने युवक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदाम, कास्कीको टोलीले पोखरा महानगरपालिका–१७ दोबिल्ला बस्ने २४ वर्षीय सुवास तामाङलाई पक्राउ गरेको हो ।
उनले पोखराको नयाँबजारस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कारबाहीका लागि राखिएको ग १६ प १४५५ नम्बरको कालो रंगको एक्स–पल्स मोटरसाइकल भदौ २४ मा चोरी गरेका थिए । चोरीको मोटरसाइकल चलाइरहेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसै गरी प्रहरीले ३ वटा स्कुटर चोरीमा संलग्न अन्य ५ जनालाई पनि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवा कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
चोरी भएका ग ९ प ८७६१ र ग १५ प ५२३७ र ग ४ प ७६८४ नम्बरका स्कुटरसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।
पोखरा–३३ बस्ने २१ वर्षीय शेरबहादुर पुन मगर, पोखरा–५ बस्ने २५ वर्षीय अजय नेपाली, पोखरा–१० बस्ने २१ वर्षीय सुशील गुरुङ, पोखरा–११ बस्ने २० वर्षीय सुदीप परियार र पोखरा–१३ बस्ने २७ वर्षीय रोशन परियार पक्राउ परेका हुन् ।
पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए ।
