गण्डकीका ३१ प्रहरी कार्यालयमा क्षति

२२ वटा सवारी साधनमा क्षति, प्रहरी कर्मचारीको २ करोड १४ लाख रुपैयाँ बराबरको व्यक्तिगत सामानमा आगजनी र लुटपाट

कार्तिक १९, २०८२

अनुप पौडेल

Damage to 31 police offices in Gandaki

कास्की — भदौ २३ र २४ को आन्दोलनका क्रममा गण्डकी प्रदेशका ३१ वटा प्रहरी कार्यालयमा क्षति पुगेको छ । यसमध्ये सबैभन्दा ठूलो क्षति कास्की प्रहरीले ब्यहोरेको छ । यहाँका ३ वटा ठूला प्रहरी यूनिट पूर्णरुपमा क्षतिग्रस्त बनेका हुन्। आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

ट्राफिकबाहेक अन्य दुई यूनिटबाट हतियार पनि लुटिएका छन् । तर, लुटपाट भएका हतियारको संख्या प्रहरीले गोप्य राखेको छ । ११ मध्ये कास्की, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी तुलबहादुर कार्कीले बताए ।

‘प्रहरीको मात्र होइन, सबै हिसाबले काठमाडौंपछि कास्कीमा धेरै क्षति भएको छ । प्रदेशमा प्रहरीलाई ३ वटा जिल्लामा धेरै क्षति भएको छ,’ उनले भने, ‘कुनै जिल्लामा प्रहरी कर्मचारीका व्यक्तिगत सरसामानमा क्षति पुगेको छ।’

अस्थायी प्रहरी पोष्ट ९ वटा, प्रहरी बिट ६ वटा, सीआरभी ४ वटा, वडा प्रहरी कार्यालय र प्रहरी चौकी ३–३ वटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय २ वटा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अस्थायी ट्राफिक पोष्ट, सामुदायिक सेवा केन्द्र १–१ वटा क्षति भएको प्रदेश प्रहरीको तथ्यांक छ । 

आगजनी र तोडफोडबाट प्रहरीका २२ वटा सवारीमा क्षति भएको छ । १४ वटा दुई पांग्रे र ८ वटा चार पांग्रे सवारीमा क्षति भएको हो । कम्प्युटर, ल्याप्टप, प्रिन्टर, स्क्यानर, प्रोजेक्टर, क्यामेरा, राउटर, हेण्डसेट, मेटल डिटेक्टरलगायत १ हजार ५ वटा उपकरण तोडफोड, चोरी र आगजनी भएका छन् ।

कार्यालयमा रहेका प्रहरी कर्मचारीका व्यक्तिगत सम्पत्तिमा पनि क्षति पुगेको छ । ३ सय ५१ जना कर्मचारीको २ करोड १४ लाख ९६ हजार रुपैयाँ बराबरको सरसामान क्षति भएको प्रदेश प्रहरीको तथ्यांक छ । कास्की, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बागलुङ, पर्वत र स्याङ्जामा कार्यरत प्रहरी कर्मचारीको व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको हो । 

क्षति पुगेका सबै कार्यालय पुनः सञ्चालनमा आइसकेको प्रदेश प्रहरी प्रमुख डीआइजी दिनेशकुमार आचार्यले बताए । ‘क्षति भएका सबै अफिस सञ्चालनमा आएका छन् । हतियार, पोसाक पनि परिपूर्ति गरिसकेको अवस्था छ,’ उनले भने । प्रहरी कर्मचारीका व्यक्तिगत क्षतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषय बाँकी रहेको उनले बताए । प्रहरी कार्यालय, कारागार तोडफोड तथा आगजनी गर्नेलाई पक्राउ गर्ने काम भइरहेको उनले सुनाए । 

प्रहरी कार्यालय तोडफोड र आगजनी गर्नेमाथि जिल्ला प्रहरी कार्यालय कास्की निकै सक्रिय भएर कारबाहीमा जुटेको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम, प्रहरी चौकी नयाँपुलमा आगजनी, तोडफोड, चोरी र प्रहरी पोसाक दुरुपयोग गरेका १९ जना पक्राउ गरिएको विवरण सार्वजनिक गरेको छ । यीमध्ये ११ जनाविरुद्ध अझै मुद्दा चलिरहेको र ८ जना धरौटी बुझाएर छुटेको कार्यालयका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । 

पक्राउ परेकामध्ये केही पटके अपराधी रहेको खुलेको छ । पोखरा–१ कसेरीका ४१ वर्षीय रुपेश मगरविरुद्ध २०६२ सालमा सवारी तोडफोड गरेको आरोपमा सार्वजनिक अपराधको मुद्दा चलेको थियो । उनी यसपटक वडा प्रहरी कार्यालय बगरमा आगजनी र तोडफोडमा संलग्न रहेको पाइएको छ । अर्का व्यक्ति धादिङ घर भई पोखराको मानवअधिकार चोक बस्ने २४ वर्षीय राजेश मक्रान्तीविरुद्ध ०७९ सालमा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको खुलेको छ । 

कास्की नयाँपुलका ४२ वर्षीय पूर्णबहादुर नेपाली प्रहरी हिरासतबाट भागेर घरनजिकैको प्रहरी चौकी आगजनी गर्न पुगेको भेटिएको छ । अभद्र व्यवहारसम्बन्धी मुद्दामा वडा प्रहरी कार्यालय बगरको हिरासतमा रहेका उनी त्यहाँबाट भागेर प्रहरी चौकी नयाँपुलको आगजनी, तोडफोड र हतियार लुटपाटमा संलग्न भएका थिए । 

पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारी वडा प्रहरी कार्यालय बैदाममा चोरी गरेको आरोपमा पक्राउ परेका छन् । भदौ २४ मा उनी कारागार कार्यालय कास्कीबाट भागेर चोरी गर्न बैदाम प्रहरी कार्यालय पुगेका थिए । उनले क्यानोन क्यामेरा र एनएस पल्सर मोटरसाइकल चोरी गरेका थिए । चोरी गर्न जानुअघि उनी ज्यान मार्ने उद्योग मुद्दामा कास्की कारागारमा थुनामा थिए ।

अनुप पौडेल

Link copied successfully