देउसी-भैलोबाट प्रहरीले दुई लाख २१ हजार ५ सय १४ रुपैयाँ संकलन गरेको थियो।
कास्की — कास्कीमा नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी–भैलो खेलेर संकलन भएको पैसाले मोटरसाइकल खरिद गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामले कात्तिक ३ गते लक्ष्मी पुजाको दिन कार्यालय परिसरमै देउसी आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट दुई लाख २१ हजार ५ सय १४ रुपैयाँ संकलन भएको थियो । त्यसमा थप गरेर २ लाख २४ हजार ९ सय ७० रुपैयाँमा कार्यालय प्रयोजनका लागि एउटा मोटरसाइकल खरिद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।
प्रहरीले बजाज प्लाटिना ब्राण्डको मोटरसाइकल खरिद गरेको हो । उक्त मोटरसाइकल कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईलाई सोमबार हस्तान्तरण गरे ।
देउसी–भैलो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, एसपी कार्की, पोखराका विभिन्न वडाका वडाध्यक्ष, सामुदायिक सेवा केन्द्रका अध्यक्ष, स्थानीय समाजसेवी, व्यवसायीलगायत सहभागी थिए । उनीहरुबाटै संकलित पैसाले प्रहरीले मोटरसाइकल खरिद गरेको हो ।
