भारी हिमपातपछि मनास्लु घुम्न गएका ३ हजार ७ सय ३६ जना पैदल फर्किएका छन् ।
गोरखा — गत मंगलबारबाट भएको हिमपातपछि मनास्लु क्षेत्रमा अलपत्र परेका १ सय २८ जनाको उद्धार गरिएको छ । मौसम खुलेसँगै आइतबार र सोमबार हेलिकप्टरमार्फत् १ सय २८ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
उत्तरी क्षेत्रमा भारी हिमपात भएपछि लार्केपास गर्न नसकेर सामागाउँ र साम्दो क्षेत्रमा रहेकाहरुको हेलिकप्टरबाट उद्धार भएको प्रहरीले जनाएको छ ।
आइतबार र सोमबार मात्र मनास्लु क्षेत्रमा ५१ वटा हेलिकप्टर उडानको अनुमति माग भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गगत बरालले बताए । ‘हिजो(आइतबार) २६ र आज(सोमबार) २५ वटा उडानका लागि अनुमति माग भएको छ,’ उनले भने, ‘अझै दुइ/तिन ग्रुपले उडानको अनुमति माग पनि गर्नुभएको छ ।’ मौसम खुलेसागै हेलिकप्टर उडानका लागि अनुमति माग बढेको हो ।
त्यस्तै, उत्तरी क्षेत्रमा भारी हिमापत भएपछि लार्केपासका लागि पुगेका ३ हजार ७ सय ३६ जना पैदल फर्किएको पनि प्रहरीले जनाएको छ । लार्केपास नगरी उनीहरु बीच बाटोबाटै फर्किएका हुन् । केही पर्यटक भने मौसम खुलेपछि धर्मशालातर्फ पनि गएका छन् ।
लार्केपास क्षेत्रमा हिउँले पुरेको ट्रयाक खोल्ने काम पनि भइरहेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप)ले जनाएको छ ।
