मनास्लु क्षेत्रमा आवातजावात खुला, सावधानी अपनाउन प्रशासनको आग्रह

प्रशासनले नजिकको सुरक्षा निकाय र मनास्लु संरक्षण क्षेत्र आयोजनासँग सूचना तथा समन्वय गरेर मात्र यात्रामा निस्कन भनेको छ ।

कार्तिक १६, २०८२

हरिराम उप्रेती

Manaslu region open for traffic, administration urges caution

गोरखा — मौसममा क्रमिक सुधार आएसँगै मनास्लु क्षेत्रमा आवातजावात खुल्ला गरिएको छ । हिमाली क्षेत्रमा सोमबारबाट भएको भारी हिमपातपछि जिल्ला प्रशासन कार्यालय गोरखाले पदयात्रा गर्न रोक लगाएको थियो ।

आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै प्रशासनले सावधानी अपनाएर पदयात्रा गर्न आग्रह गरेको हो ।पदमार्ग भत्किएको अवस्थामा यात्रा नगर्न, पर्याप्त सावधानी अपनाउन आग्रह गरिएको छ ।

नजिकको सुरक्षा निकाय र मनास्लु संरक्षण क्षेत्र आयोजनासँग आवश्यक सूचना तथा समन्वय गरेर पदमार्गको जानकारी लिएर मात्र यात्रा गर्न तथा मौसम प्रतिकूलता हुनासाथ आवातजावात रोकी सुरक्षित स्थानमा बस्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

सोमबारबाट भारी हिमपात भएपछि पर्यटक ‘होल्ड’ भएर बसेका थिए । आइतबार मौसम सफा भएसँगै पर्यटक गन्तव्यतर्फ जान थालेका छन् । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully