निरन्तर वर्षासँगै बाढी र पहिरोका कारण अवरुद्ध बनेको सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो।
लमजुङ — बाढी पहिरोका कारण अवरुद्ध हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडक खुलेको छ । निरन्तर वर्षासँगै मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चे नजिकैको अक्टोपस झरनामा बाढी आएको र बेंसीसहर नगरपालिका-६, उत्तीसघारी खरखरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
अक्टोपस झरनामा मनाङबाट झर्दै गरेको २ वटा स्करपियोसहित ४ वटा सवारी साधन फसेपछि आवतजावत रोकिएको थियो । झरनामा पानी कम भएसँगै शनिवार बिहान सबै सवारी साधनलाई निकालेर सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेसम बोहराले जानकारी दिए ।
उनका अनुसार फसेको सवारी साधनलाई डोजर र एक्स्काभेटर सहयोगमा निकालिएपछि सवारी आवागमन सुचारु भएको हो । बाढी र सवारी साधन झरनामा फसेपछि शुक्रवार उक्त क्षेत्रमा रोकिएका पर्यटक गन्तव्यमा गएका उनले बताए ।
उनका अनुसार बेंसीसहर नजिकै खरखरेको सडकमा खसेको पहिरो शुक्रवार राति नै पन्छाएर सवारी आवागमन गराइएको थियो । अहिले बेंसीसहर–चामे सडकमा कहीँ अवरोध नभएको उनले बताए ।
बेंसीसहर–चामे सडक खुले पनि वर्षाको समय ठाउँ ठाउँमा जोखिम हुने भएकाले सतर्कताका साथ यात्रा गर्न उनले अनुरोध गरे ।
